बडा दशैँको छेको पारेर असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’का कलाकारले राजधानीमा दर्शकसँग भेटघाट गरेका छन् । बुधवार नयाँ बसपार्कको लोत्से मल अगाडि आयोजित ‘फ्यान्स मिट एन्ड ग्रिट’ कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । दर्शकसँगको भेटघाटमा चलचित्रका मुख्य कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर उपस्थित थिए ।आफ्नै आँखा अगाडि चलचित्रका कलाकारहरु देख्दा दर्शकहरुले हुटिङ गरेका थिए । डेब्यु अभिनेता धिरज नाडकरले नेपाली भाषा बोलेरै दर्शकलाई झुमाउन सफल भएका थिए । धिरज मगरको अटोग्राफका लागि युवतीहरुले गरेको तछाडमछाड हेर्न लायक थियो । अदितीलाई ‘आई लभ यू’ भन्ने दर्शकको पनि कमी थिएन ।
भेटघाटपछि मिडियासँगको वार्तामा अदितीले दर्शकको उत्साहले हौसला मिलेको बताइन । ‘हिजो अस्तिसम्म अलि अलि मनमा डर थियो । तर आज दर्शकले देखाएको उत्साह र मायाले हौसला मिलेको छ । उहाँहरु चलचित्र हेर्नको लागि आतुर रहेको पाएँ । शुक्रबारबाट यस्तै किसिमको माया पाउने अपेक्षा गरेको छु,’ उनले खुसी हुँदै भनिन् । त्यस्तै, दुई धिरजले फिल्मप्रतिको दर्शकको उत्साहले आफूहरु उत्साहित रहेको बताए ।सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको लगानी छ । यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।