‘२ नम्बरी’ नाफामा, प्राविधिकहरुलाई बोनस दिइने

प्रदर्शनरत चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । रिलिजको पाँचौ दिन मंगलबार पनि व्यापार उच्च देखिएको छ । देशैभरका मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको उच्च अकुपेन्सी छ ।चलचित्रका निर्माता किरण नेपालीले आफूहरु नाफामा गैसकेको बताएका छन् । चलचित्रबाट राम्रो मुनाफा कमाउने भएपछि निर्माता किरण नेपालीले चलचित्र निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने भएका छन् ।

उनले भने–‘चलचित्र निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । चलचित्र हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’ बोनस कति दिने भन्ने अहिले पक्का नभएको उनले बताए । चलचित्रले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ । चलचित्रले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । दर्शकले भने चलचित्रलाई मनोरञ्जनको खुराक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?