तिहारको अवसर पारेर शुक्रवारबाट दुई आशातित चलचित्र ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तुका यी दुई चलचित्रले तिहार र छठको विदामा घरेलू बक्सअफिसमा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ । चाडपर्वको विदामा नेपाली चलचित्रले राम्रो व्यापार गरेका कयैन् उदाहरण छन् । बलियो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा यी दुई चलचित्रले पनि तिहार विदाको फाइदा उठाउनेछन् ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमाथि निर्माण भएको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् । रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो ।
चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका डेभिड लगायतको अभिनय रहेको छ ।
त्यस्तै, दीपेन्द्र के। खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । ‘जात्रै जात्रा’पछि दयाहाङ र विपिनको जोडीलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई रोचक हुनेछ ।