शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ले दर्शकको राम्रो साथ पाएको छ । पहिलो दिन विहान र दिउँसोको शोमा करिब ४० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको चलचित्रको साँझसम्म आइपुग्दा दर्शक अकुपेन्सी ८० माथि पुगेको थियो । दोस्रो दिन शनिवार भने चलचित्रले देशभर ८० देखि शतप्रतिशतसम्म अकुपेन्सी कायम गरेको छ ।
निर्देशक दीपेन्द्र के खनालले चलचित्र हेरेर दर्शक रमाइरहेको बताए । सकारात्मक समीक्षा प्राप्त गरेको चलचित्रले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । शुक्रबार र शनिबार कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि कलाकारहरु खुशी देखिएका थिए ।क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआई लगायत मल्टिप्लेक्समा चलचित्रको अकुपेन्सी बलियो देखिएको छ भने यही अवस्था देशभरका सिंगल स्क्रिनमा पनि छ । शुक्रबार चलचित्रले ५० लाख हारहारीमा ओपनिङ गरेको जानकारी वितरक करण श्रेष्ठले दिए । ‘पहिलो दिन ५० को हारहारीमा ओपनिङ छ । शनिबार ८० देखि ९० लाख ग्रस आसपास हुने अनुमान छ,’ श्रेष्ठले भने ।
विकडेजको पहिलो दिन सोमबारदेखि तिहार र छठको बिदा एकसातासम्म भएकोले चलचित्रलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।