कालीगण्डकीमा र्याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

पाल्पाको रानीमहल क्षेत्रमा रहेकाे कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । साहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानीमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् ।

कोभिड-१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउनु हुन्छ । उहाँहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक ठाउँको भ्रमण गर्न मन पराउने गरेको बताउनु भयो । शर्माले रानीमहल मात्रे भनेर घुम्न गए पनि र्याफ्टिङ रहेको थाहा पाएपछि र्याफ्टिङ चढेको बताउनु भयो । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो ।

रानीमहलको बायाँबाट बग्ने पवित्र कालीगण्डकीमा दैनिक सयौँको सङ्ख्यामा स्थानीयदेखि बाह्य पर्यटक र्याफ्टिङको मज्जा लिन आउने गरेका छन् । अहिले रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा सुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउनुहुन्छ ।

गण्डकी प्रदेशको स्याङ्जामा रहेकाे कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिब २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको बताउनु भयो । उहाँले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय, छलफल र सहकार्यमा जुटेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?