कांग्रेसको पाउमा पर्नेहरू कम्युनिष्ट होइनन् देशका गद्दार हुन् : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसको पाउमा पर्नेहरू कम्युनिष्ट नभइ देशका गद्दारहरू भएको बताएका छन् । नेकपा एमाले कर्णाली प्रचार विभागले आज जुम्लामा आयोजना गरेको कर्णाली प्रचार भेलामा उपमहासचिव गुरुङले कम्युनिष्टको आवरणमा राजनीति गर्ने र स्वार्थपूर्तिका लागि कांग्रेसको पाउमा पर्नेहरू कम्युनिष्ट नभइ देशका गद्दारहरू भएको बताएका हुन् । विदेशीको दलाली गर्ने र उसैको पाउमा पर्नेहरूले मुकुलको हितमा कुनै काम नगर्ने र विदेशीको इसारामा बनेको वर्तमान सत्ता गठबन्धनबाट मुलुक बन्न नसक्ने उनको भनाइ छ । ‘कांग्रेसको पाउमा पर्ने पार्टीहरू कम्युनिस्ट हुनै सकदैन, तिनिहरू कम्युनिष्ट आन्दोलनको गद्दार हुन् । यो तथ्यलाई सबैलाई हामीले बुझाउनु पर्छ,’ उपमहासचिव गुरुङले भने, ‘माओवादीले ६० दिन पनि नकटी मित्रघात गरेर शत्रुको पाउमा परेर सिंगो नेपालीको शीर झुकाउने काम गर्‍यो । जनतामाथि घात गर्‍यो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीकै इशारामा एमालेलाई धोखा दिएको र कांग्रेसको पाउमा परेको उनको भनाइ छ । यस्तै, उनले कर्णालीका जनतालाई माओवादीले निरन्तर ठगिरहेको चर्चा गर्दै नेकपा एमालेले देश बनाउने नेतृत्व गरेको कारण नै अहिले देशी–विदेशी प्रतिक्रियावादीहरूले घेराबन्दी गरिरहेको बताए । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी र डा. शिवमाया तुम्वाहाम्फे, केन्द्रीय सदस्यहरू विष्णु रिजाल र नागिन्द्र शाही, केन्द्रीय प्रचार विभाग सचिव गगन विष्ट र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?