सार्वजनिक सुनुवाईले गाउँपालिकाको फिल्म देखियो-रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्की

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सार्वजनिक सुनुवाई मार्फत गाउँपालिकाको फिल्मनै देखिएको बताउनुभयको छ । सुनुवाईले गाउँपालिका प्रति जनताको वास्तविक दृष्टिकोण थाहा पाउन सकेको उल्लेख गर्दै अध्यक्ष कार्कीले जनताको आकाँक्षाबाट मार्ग निर्धारण गर्न सहज हुने औँल्याउनुभयो । शुक्रवार गाउँपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाईको क्रममा उठेका जिज्ञासाहरुको जवाफ दिंदै अध्यक्ष कार्कीले जनताको सुझावलाई सधै ग्रहण गर्ने र कार्यान्वयन गर्ने प्रतिबद्ता जनाउनुभयो । अध्यक्ष कार्कीले सिमित स्रोत र साधनका कारण कतिपय काम चाहेर पनि गर्न नसकिएकोले प्रदेश तथा केन्द्रबाट योजना आउने बिश्वास ब्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले योजना अनुगमनलाई थप प्रभावकारी बनाउनका लागि अनुगमन गर्ने संयन्त्रलाई चुस्त बनाउने प्रतिबद्घता ब्यक्त गर्नुभयो । उहाँले गाउँपालिकालाई सुधार्नका लागि जनताको प्रतिक्रिया सधै जरुरी रहेको धारणा राख्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले चालु आर्थिक वर्षमा गाउँपालिकामा भएका बिकाश निर्माण, योजना, सेवा प्रवाह, अभियान, तथा अन्य गतिविधी सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले सेवा प्रवाहमा केही कमीकमजोरी भय त्यसमा सहजिकरण गर्ने प्रतिबद्ता जनाउनुभयो ।

कार्यक्रममा सेवा ग्राही तथा सरोकारवालाहरुले बिभिन्न जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले पालिका मार्फत हुँदै आएका शिक्षा, स्वास्थ्य, कृषि पशुपालनका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनुपर्ने, योजनाहरुको अनुगमनमा वडाध्यक्ष पनि सहभागी हुँदा वडाको सेवाप्रवाह प्रभावित हुने गरेका, बिद्यालयलाई प्रत्साहान रकम दिदा मापदण्ड बिपरित दिने गरिएको, शिक्षा क्षेत्रमा प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्ने, विद्यार्थीहरुको दिवाखाजा बापतको रकम कम भएकोले पालिकाले पनि केही रकम थप गर्न सक्ने प्रभावकारी हुने, बढ्दो बेरुजु न्युनीकरणका लागि पहल गर्नुपर्ने, पालिका स्तरीय कृषि उपज संकलन केन्द्र बनाई किसानहरुको उत्पादन सिधै बजारसम्म पुग्ने वातावरण बनाउनुपर्ने, बढ्दो बसाई सराई न्युनीकरणका लागि ठोस कार्यक्रम बनाउनुपर्ने लगायतका जिज्ञाशा तथा सुझावहरु राखेका थिए ।

सार्वजनिक सुनुवाईमा बस्ती बस्तीका जनताको चासो, गुनासो प्रश्न तथा सुझाव समेत प्रस्तुत गरिएको थियो । रिपोर्ट अनुसार गाउँपालिकाको सेवा प्रवाह, सुशासन र कार्यचुस्ततामा ५० प्रतिशत नागरिक मात्रै सन्तुष्ट देखिएका छन । नागरिकहरुले, ‘समयमा तालिमहरु संचालन गर्न निसकेको, शिक्षक नियुक्तिका लागि लिइने परिक्षामा बिज्ञहरुले लिने शुल्क नाम निकाल्ने ब्याक्तिबाट लिई शिक्षा शाखाले ब्याक्तिहरुको श्रमको दुरुपयोग गरेको,रकम लिदाँ वा दिदा आम्दानी खर्च नबाँधिएको तथा बिज्ञहरुले राज्यलाई कर छली गरेको ,लेखा शाखाको कार्यालय उपस्थिती अनियमित भएको, कर्मचारीहरु कार्यालय समयमा कार्यलयमा उपस्थित नभएको, भैरवस्थान मन्दिरमा चढाउने ठुलो भेटि बाहिर नआउने गरेको, दानपेटिका रातिमा समेत खोलिने र मन्दिर आफँैले बनाउने रोटमा समेत मिसावट गरेको, पालिकाले लिने परिक्षा निर्धारित समयमा नगरेको, चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्नेमा गाउँपालिकाले अहिलेसम्म गर्न नसकेको, कर्मचारीहरु कार्यलय समयमा बैठक बस्ने तर माईनटको समय बिहान साँझ राखेर अतिरिक्त सुविधा लिएको, खरिद प्रक्रिया र सामग्राीबारे कर्मचारिले जनप्रतिनिधीलाई जानकारी नदिएको, पार्टीको आधिकारीक बैठकमा समेत कर्मचारी जाने गरेको, गाउँपालिका अध्यक्षले कतिपय निर्णय गर्नुपर्ने कुरामा निर्णय लिन नसकेको,डेट एक्सापायर सामग्री बिक्रि भएको तर पालिकाले बजार अनुगमन नगरेको, बिद्यालय मर्जको अवधारणा पनि लिने र अनुमती पनि दिने दोहोरो निती लिइएको’ बारे चासो राखेका थिए ।

नगरिकहरुले गाउँपालिकाले केही उदाहरणिय एवम जनमैत्री काम गरेको समेत प्रतिक्रिया दिए । उनिहरुले, पालिका अन्तर्गतका सबै बिद्यालयका २÷२ जना शिक्षकलाई ३ दिनसम्म पिटी सिकाई एक रुपता कायम गरिएको, कर्मचारी कहिलेकाँही बेलुकी ६ बजे सम्म पनि कार्यालयमै काम गरेको, पलिकाले ख्ुार्सानी र बेसारमा गरिएको लगानी उपलब्धीपुर्ण भएको, बाझो बारी खन्ने र उत्पादन गर्नेलाई अनुदानको ब्यवस्था गरिएकोले कृषकहरु उत्साहीत भएको,पाक्षिक रुपमा बिशेसज्ञ सेवा सहितको स्वास्थ्य सिविरले उपचारका लागि बाहिर जानुपर्ने बिरामीले निशुल्क स्वास्थ्य सेवा पाएको,वडा न ७ को वडा कार्यालय प्राङगणमा कर्मचारीले फुर्सदको समयमा गरेको करेशावारीले सेवा ग्राहीलाई कृषि उद्यम तर्फ प्रेरित गरेको,.६० वर्ष पुगेका स्वयमसेविकालाई दिब्य जिीवन सम्मान अन्तर्गत नगद २५००० दिने गरिएको,वडा न ३ मा जेष्ठ नागरिक, मुटुरोग, क्यान्सर, दृघ रोगी सुत्केरीलाई निशुल्क एम्बुलेन्स सृवा दिएको,केहि वडाहरुमा खानेपानी शुल्क छुट, तथा निशुल्क गरिएको’ बताए ।

 

रिब्दीकोट गाउँपालिकाले पालिका स्तरीय सार्वजनिक सुनुवाई गर्नु अघि वडा स्तरमा पनि सार्वजनिक सुनुवाई गरेको थियो । तर त्यो ब्यवस्थित हुन सकेको थिएन । वडा अध्यक्षहरुले आगामी दिनमा प्रभावकारी हिसावले गर्ने बताएका छन ।

सार्वजनिक सुनुवाईको सहजिकरण कुटुम्ब मिडिया नेटवर्क प्रा.लि तानसेन पाल्पाले गरेको थियो ।

Photo: Bhuwan Rayamajhi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?