ताप्लेजुङको याम्फुदिनमा बाढी पहिरो : एउटा घर भत्कियो, १३ घर जोखिममा

ताप्लेजुङको दुर्गम गाउँ याम्फुदिनमा बाढी पहिरोले एउटा घर भत्किएको छ ।

सिरिजङ्घा–८ याम्फुदिनको थुङ्गीमका जगतबहादुर राईको होटलसहित घर, केही पशुचौपाया समेत बाढी पहिरोले बगाएर लगेको स्थानीय अमिरमान राईले बताउनुभयो । अरु १३ घरमा पनि पहिरोको जोखिम भएपछि स्थानीय बासिन्दा रातभर जागै बसेका छन् ।

बुधवार बेलुकादेखिको अविरल वर्षाका कारण काबेली खोलामा बाढी आएको हो । १३ घरका बासिन्दा बाढीको डरले अग्लो ठाउँमा गएर बसेका कञ्चनजङ्घा माध्यमिक विद्यालयकी शिक्षक ज्ञानु राईले बताउनुभयो।

थुङ्गिम गाउँमा रहेको सिरिजङ्घा गाउँपालिका वडा नम्बर–८ को कार्यालय नजिकैबाट काबेली खोलाको बहाव बग्न थालेको र कार्यालय नै बगाउने अवस्थामा रहेको शिक्षक राईले बताउनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा माध्यमिक विद्यालय, स्वास्थ्य कार्यालय, कञ्चनजङ्घा संरक्षण क्षेत्रको सेक्टर कार्यालय र घरहरु जोखिममा छन् ।

याम्फुदिनको सामेखामका २० घर, नेपु, डडेले र बतासेका ३१ घर, तुम्या गाउँका ५ घरलाई तुम्याहा खोलाले छेकेर कतै जान नसक्ने अवस्था छ । काबेली खोला र याम्फुदिन बजार नजिकै रहेको तुम्याहा खोलाले जोखिम बढाएको छ । गाउँपालिकाको केन्द्र तेल्लोक तथा सदरमुकामबाट यी गाउँमा जाने बाटो समेत बन्द भएको छ ।

मनसुन सुरु भएसँगै त्यहाँका विभिन्न ठाउँमा बाढी पहिरोकाे जोखिम बढेको छ । दुई वर्ष अगाडि ७२ लाख रुपैयाँको लगानीमा बनाएको स्वास्थ्य चौकी भवन पनि जोखिममा छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले जोखिम रोक्न सबै क्षेत्रबाट त्यहाँ आवश्यक पहल भइरहेको बताउनुभएको छ । बाढीले बाटो नै बन्द हुँदा सिदिङ्वा गाउँपालिका–१ सुरुमखिम, सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका विद्यालय हिजोदेखि नै बन्द गरिएको छ । बालबालिका आउने बाटो भत्किएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक यज्ञमणि पौडेलले बताउनुभयो ।

सिरिजङ्घा वडा नम्बर–८ याम्फुदिनका ४ वटा विद्यालय पनि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?