नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ ।
बुधवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले एमालेले सरकारबाहिर बसेको पीडा अभिव्यक्त गरेको टिप्पणी गर्नुभयाे । उहाँले सरकार अङ्कगणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताउनुभयो ।
सांसद दाहालले भारतीय व्यापारी प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदीक्षा राखेको कुरा अभिव्यक्त गरेका र त्यही कुरा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै त्याे विषय राजनीतिक नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमाले सरकारबाहिर बसेका कारण उसलाई ठूलो पीडा छ । आवेग छ । त्यो आवेग अभिव्यक्त हुन्छ । सरकार कसरी बन्छ भनेर एमालेलाई थाहा रहेनछ । सरकार अङ्कगणित हिसाबले बन्छ । जुनदिन यो सरकारले बहुमत गुमाउँछ, त्यो दिन स्वतः राजीनामा हुन्छ । के को राजीनामा ? उहाँहरूले जस्तो देश बेचेको छ ? राष्ट्रघाती सन्धि गरेको छ ? कुनै अपमानित काम गरेको छ नीतिगत हिसाबले, राजनीतिक हिसाबले ? कुनै एउटा पात्रले आफूमाथि राखेको सदीक्षा सम्झिएको हो । सरदार प्रितम सिंहले कमसेकम प्रचण्ड प्रधानमन्त्री भइदिए हुन्थ्याे भन्ने सदीक्षा राख्नुभयो । न उहाँको राजनीतिक भूमिका छ, न घरानीया व्यवसायी हो । सामान्य श्रमिक, मजदुरको सदीक्षा राजनीतिक विषय बनाउन मिल्छ र ?’
सांसद दाहालले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदीक्षासहित सिंहले नेपाल र भारतका व्यक्तिहरूलाई भेटेको बताए पनि त्यसाे गर्न प्रचण्डले नअह्राएको पनि बताउनुभयो ।