अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गाली बेइज्जती मुद्दा हारेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता केसीको गाली बेइज्जती मुद्दामा बुधबार दाबी नपुग्ने फैसला गरेको हो । केसीले २०७७ साउन ९ गते मुद्दा दायर गरेका थिए ।
करिब तीन वर्षअघि अभिनेत्री शाहले भुवनले आफूविरुद्ध यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमार्फत खुलाएकी थिइन् । भुवनले प्रतिवादमा लेखेका थिए, ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने !’
भुवनको उक्त स्ट्याटसपछि अभिनेत्री शाहले जापान अवार्डमा भुवनले गरेको दुर्व्यवहार पनि खुलाएकी थिइन् । ‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो । त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनुभयो,’ इन्स्टामा भिडियो सार्वजनिक गर्दै भनेकी थिइन्, ‘भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार । त्यही परभर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको मन पर्दैन । हस दाइ भन्दै धकेलिदिएँ । म जे बोल्दै छु यो सबै सत्य हो ।’
त्यसपछि भुवनले १० करोडको क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको थिए । भुवनले मुद्दा हारिसकेपछि इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै शाहले कानुनी लडाइँ सहज नभएको र यो लडाइँ आफूले जितेको घोषणा गरेकी छन् । ‘सबै कुरा यही सामाजिक सञ्जालबाटै सुरु भएको हो । जहाँ मैले फिल्म क्षेत्रको मेरो यात्रा सुनाएको थिएँ । म कस्तो अवस्थाबाट गुज्रिए भन्ने कुरालाई पनि सुनाएकी थिएँ । हामी हाम्रो सपना साकार गर्न सक्छौं तर तपाईं सजक हुनुपर्छ । आफ्नो रक्षा आफैं गर्नुपर्छ भन्ने नियतले भिडियो बनाएँ,’ उनले भनेकी छन्,’त्यो कुराले ममाथि १० करोडको मुद्दा लाग्यो । त्यो व्यक्तिले आफ्नो शक्ति र फिल्म क्षेत्रबाट पाएको साथ/सहयोग प्रदर्शन गर्यो । ममाथि १० करोडको मुद्दा लगाएर मैमाथि बुलिङ भयो । आफूले भोगेको अनुभूतिलाई सुनाउनु त डरलाग्दो हुँदोरहेछ । म र मेरो कानुनी टिमले ३ वर्षदेखि यो मुद्दामा लड्यौं । सजिलो थिएन ।’
कानुनी लडाएँमा साथ दिने अधिवक्ता र परिवारलाई धन्यवाद दिँदै भनेकी छन्, ‘बल्ल हामीले यो लडाइँ जित्यौं । म सबै अधिवक्तालाई धन्यवाद दिन चाहन्छु । मेरो परिवार, आमा र फ्यानलाई धन्यवाद दिन चाहन्छु । मैले जितें । हामीले जित्यौं । अब यो सकियो । अब म श्वास फेर्न सक्छु । यो कुराबाट मुभअन भएर जीवनको अर्को अध्याय सुरु गर्न सक्छु ।’