म्याग्दीलाई आज (बिहीवार) एक समारोहबीच पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित म्याग्दीलाई पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
बच्चा जन्मिएको १५ महिनादेखि ५ वर्षमुनिका कुल ४४ सय २१ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चिततासहित म्याग्दीलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिनाभन्दा मुनिका १७ सय १२ जना बालबालिकाले पनि पूर्णखोप लगाइरहेका छन् ।
राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरूले सबै खोपको मात्रा पूरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको निमित्त प्रमुख लम्सालले बताउनुभयो । बालबालिकाहरूले १५ महिनादेखि ५ वर्षको उमेरसम्म पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चालु वर्षमा जिल्लाको सबै घरधुरीमा सर्वेक्षणसहित ५ वर्षमुनिका बालबालिकाहरूको विवरण सङ्कलन गर्नुका साथै छुटेका बालबालिकाहरूलाई पुनः खोप लगाउने व्यवस्था गरिएको थियो । यसैगरी पूर्णखोप लगाएका बालबालिकाहरूको घरमा पूर्णखोप घर लेखेको स्टिकर टाँसिएकाे छ ।
पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीलाई पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आउँदा दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बजेट नघटाई उच्च प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालनमा जोड दिएको बताउनुभयो ।
यस्तै प्रदेशको खोप समन्वय समितिका संयोजक डाक्टर विनोदविन्दु शर्माले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै पालिका र जनप्रतिनिधिले स्वास्थ्यमा उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव जीवनमा स्वास्थ्य अत्यन्त संवेदशील रहेको बताउँदै स्वास्थ्य क्षेत्रको विकासमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा खोप अभियानमा सहयोग पुर्याउने जिल्लाका पालिका, विभिन्न सङ्घ–संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । म्याग्दीलाई यसअघि पनि २०७१ साल चैत १५ गते पहिलो पटक नेपालकै छैटौँ पूर्णखोप जिल्लाको रूपमा घोषणा गरिएको थियो । यस पटक भने जिल्ललाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम राख्न घोषणा गरिएको हाे ।