भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ ।
प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रमुख इसोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।
योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउने चौथो दशे बन्ने छ । चन्द्रमाको याे भागको अहिलेसम्म नक्साङ्कन भएको छैन । चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भिरहरू छन् । केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म छ।
चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योद्घाटन पनि हुन सक्छ । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चन्द्र अभियानलाई असफल हुन नदिन सबै उपाय अपनाएको बताएको छ ।
चन्द्रयान–३ अभियानका लागि भारतले झन्डै ८ करोड डलर खर्च हुने अनुमान गरेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन ।