राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पीडित पक्षबीच सहमति जुटेन, उपचार सेवा प्रभावित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आन्दाेलनमा उत्रिएका आफन्तबीच आज पनि सहमति जुट्न सकेन ।  पीडित पक्ष र अस्पतालबीच पटकपटक छलफल भए पनि सहमति जुट्न नसकेकाे हाे ।

घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण ज्यान गएकाे भन्दै बिहीवारदेखि शुरु भएको नाराबाजीसहितको प्रदर्शन आज पनि जारी रहेको हो ।

विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित भएकाे छ । प्रतिष्ठान परिसरमा आज बिहानैदेखि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो । बालकको ज्यान गएकाेबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्ति पाउनुपर्ने पीडित पक्षकाे माग छ ।

उनीहरुले अस्पताल प्रशासनले आफ्नो माग सम्बोधन नगरेको भन्दै लमही-घोराही सडक खण्ड अन्तर्गत पर्ने बबई खोला पुल नजिकै सडक चक्काजाम समेत गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभयो ।

‘आन्दोलन गरिरहेका पीडित परिवारलाई अस्पताल प्रशासनबाट हटाएका थियौँ, फेरि उनीहरुले बबई खोला पुल नजिकमा सडक अवरुद्ध पारेका हुन्’ । उहाँले भन्नुभयाे ।  अहिले सडक सञ्चालनमा आइसकेकाे गाैतमले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?