झापाको गौरीगञ्ज गाउँपालिका–२ काे दशगजामा क्षेत्रमा राखिएकाे नेपाल-भारत सीमा स्तम्भ बाढीले बगाएको छ ।
निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नम्बरकाे सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । शुक्रवार हिजाे दिउँसो आएको बाढीले बगाएको सीमा स्तम्भकाे खोजी भइरहेको उहाँले बताउनुभयो ।
असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा डुबान पर्नुका साथै घर परिवार विस्थापित भएका छन् । दमक–४ ताराबारीमा रहेकाे मावा खोलामा बाढी आउँदा खोला किनार रहेको ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ । बाढीले करिब ५० मिटर लम्बाई र पाँच मिटर चौडाई कटान गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ ।
जिल्लाको बाह्रदशी–२ मा रहेकाे अदुवा खोलामा पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् । गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोलमा रहेकाे चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएकामा अहिले अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किका छन् ।