प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु भएको छ । आज आइतवारको बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहे पनि विधेयकको विषयमा सहमति जुट्न नसक्दा दिउँसाे १ बजे बस्ने भनिएको बैठक साढे २ बजेमात्रै शुरु भएको हो ।
संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाएकाे र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० गतेभित्र पारित गरिसक्नुपर्नेमा नेकपा एमालेको संसद् अवरोधका कारण विधेयक निष्क्रिय बनेको थियो ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।