नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नाे पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ ।
आज मङ्गलवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्काले कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभएको हो । एमाले–माओवादी केन्द्रलगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पार्नुभयो । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा हामी पुग्यौँ । आफूलाई विश्वासकाे मत दिएमा राष्ट्रपतिको चुनावमा एउटा वातावरण बनाएर कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ ।’
उपसभापति खड्काले सरकारले नागरिकलाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिककाे अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले अहिलेसम्म कुनै गल्ती र कमजोरी नगरेको जिकिर गर्नुभयाे ।
खड्काले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा पार्टीकाे केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गर्नुभयो ।