सय रुपैयाँको नुन लिन १५ सय खर्च

थलारा गाउँपालिका–९ फकालीबाट आइतवार नुन लिनका लागि स्थानीय सदरमुकाम चैनपुर पुगे । सहुलियतमा नुन लिनका लागि चैनपुर पुगेका उनीहरूले पाँच पोका नुनमात्रै पाए । घरबाट जीपमा आउन जान र सामान्य खाना खर्च जोड्दा उनीहरूको प्रतिव्यक्ति झन्डै १५ सय रुपैयाँ खर्च भयो । उनीहरू दिनभरि लाइनमा लागे र बेलुकीपख एक सय रुपैयाँको नुन लिएर घर फर्किए ।

नुन लिन गएकामध्ये एक जयबहादुर विष्टले भन्नुभयो, ‘तीन सय रुपैयाँको नुन लिनुपर्ला भनेर आएको थिएँ । तर नुन कम रहेको भन्दै पाँच किलोभन्दा बढी दिन मानेनन् । नुन लिन जानका लागि १५ सय रुपैयाँ खर्च भयो । चैनपुर आएर सहुलियतमा नुन किनेर लैजानुभन्दा नजिकको भाँडेबजार, तमैल बजार र बगडगाउँबाट नुन किनेको भए भने जति लिन पाइन्थ्यो । समयको पनि बचन हुन्थ्यो र पैसा पनि त्यति धेरै खर्च हुन्थेन ।’

थलारा–४ की धर्मादेवी सिंह पनि नुन लिनकै लागि सदरमुकाम पुग्नुभयो । मजदुरी गरेर जम्मा गरेको पैसा लिएर सदरमुकाम पुग्नुभएको उहाँले पनि पाँच केजीमात्रै नुन पाउनुभयो । उहाँले आफूलाई २० पोका नुन दिन कर्मचारीलाई आग्रह गर्नुभयो तर कर्मचारीले नुन सकिन लागेको र अहिले यतिमात्रै पाइने बताए । नुन लिनका लागि पटक–पटक आइरहन समस्या हुने सिंहको गुनासो थियो ।

उहाँले भन्नुभयो, ‘घरदेखि चैनपुरसम्मको र चैनपुरदेखि घरसम्मको गाडी भाडामात्रै आठ सय ५० रुपैयाँ लाग्यो । खाना, नास्ताको पनि जोड्दा १५ सय रुपैयाँभन्दा धेरै खर्च भयो । छ महिना, वर्ष दिनलाई पुग्ने नुन लाने सोच थियो तर पाँच केजीमा चित्त बुझाउन पर्‍याे ।’

यो समस्या विष्ट र सिंहको मात्रै होइन, सिङ्गो बझाङवासीको हो । नुन अपुग हुने भन्दै साल्ट्र ट्रेडिङ डिपो कार्यालय बझाङले प्रतिपरिवार पाँच किलो नुनमात्रै दिन शुरु गरेको छ । भनेजति नुन दिँदा जिल्लामा अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको कार्यालय प्रमुख नरबहादुर भाटले बताउनुभयो । अहिले डिपोबाट हप्ताको एक दिन आइतवारमात्रै नुन वितरण हुँदै आएको छ । अनुदानकाे नुन किलाेकाे नाै रुपैयाँमा बिक्री हुँदै आएकाे छ ।

उहाँले भन्नुभयो, ‘वर्षैपिच्छे सरकारले नुनमा अनुदानको कोटा घटाउँदै आएको छ । बझाङमा शुरुमा चार हजार क्विन्टल नुन उपलब्ध गराएको सरकारले तीन हजार हुँदै अहिले कोटा घटाएर दुई हजार छ सयमा सीमित गरेको छ ।’

अहिले डिपोमा दुई हजार ८२ क्विन्टल ५० किलो नुन मौज्दात रहेको कार्यालय प्रमुख भाटले बताउनुभयो । नुनको थप कोटा माग गर्दै सम्बन्धित निकायमा पत्रकार गरेको भए पनि कोटा थपिने वा नथपिने टुङ्गो नलागेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि नुनको थप कोटा मागेर सम्बन्धित निकायमा पत्राचार गरेको बताउनुभयो । नुनको दुरुपयोग भयो भन्ने गुनासो आएपछि मात्रै हप्ताको एक दिन आइतवारमात्रै वितरण गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

अनुदानको आयोडिन नुन पशुचौपायालाई दिने, एकै व्यक्तिले पटक–पटक लिने, बाहिरी जिल्लामा रहेका आफन्तलाई अनुदानको नुन पठाउने गरेको गुनासो आएपछि यसलाई कम गर्न हप्ताको आइतवारमात्रै नुन वितरण गर्ने गरेको र एक परिवारलाई पाँच किलोमात्रै उपलब्ध गराउने निर्णय गरेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?