अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच गुजरातमा भेटवार्ता

भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय समकक्षी निर्मला सीतारमणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएकाे छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिनुभयो ।

अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणमका क्रममा सम्पन्न बिजुली निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आउँदाे १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गर्नुभयो ।

दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा दुवै देशका अर्थमन्त्रीकाे एउटै मत रह्यो ।

भारतीय अर्थमन्त्री सीतारमणले भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड र नेपालको एनसीएचएलबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गर्नुभएको छ । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापनाका लागि काम गर्ने बताउनुभएको छ ।

भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीका लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले त्यस क्षेत्रमा लगानी बढाउनसमेत अर्थमन्त्री महतले अनुरोध गर्नुभएको छ ।

जी–२० सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिएकाेमा महतले भारतलाई बधाई दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?