सडकमा फ्याँकिएका प्लाष्टिकका फोहर उठाउँदै ललितपुर नगर प्रहरी

ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडक र गल्लीहरुमा फ्याँकिएका चाउचाउ, चकलेटका खोल तथा प्लास्टिकका टुक्रा टिप्ने अभियान शुरु गर्दैछ । यस्ता फोहर उठाउन नगरप्रहरीको गाडीमा एक जना चालक र  एक जना नगर प्रहरी गरी दुई जना खटिनेछन् ।

महानगरका २९ वटै वडामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म गाडी चालकसहित नगरप्रहरी फोहर उठाउँदै टोल टोलमै पुग्ने छन् ।  यो अभियानले ललितपुर महानगरपालिकाललाई थप सफा र सुन्दर बनाउन सहयोग गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो ।

‘आफ्नाे घर सफा गरेर सडक पेटीमा फोहर फाल्ने बानी सुधार्न र नागरिकलाई जिम्मेवार बनाउन यो काम शुरु गरेका हौँ’ उहाँले भन्नुभयो । नगर प्रहरीले फुटपाथ व्यवस्थापनको काम मात्रै नभएर नागरिकलाई फाइदा हुने र नागरिकले आशा गरेको काम पनि गर्नु पर्ने उहाँले बताउनु भयो ।

अबको एक वर्षमा ललितपुरको धापाखेल, बुङ्मती र बालकुमारीमा विपद् व्यवस्थापन शाखा राख्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । विपद् व्यवस्थापन शाखाबाट दमकल, एम्बुलेन्स र नगर प्रहरीले सेवा दिने छन् ।

आवश्यकता अनुसार यी तीन ठाउँमा फोहर उठाउने थप गाडी सञ्चालन गर्ने पनि उहाँले बताउनु भयो । यसको लागि ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी थप्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?