मुगुमा झण्डै दुई हप्तादेखि विद्युत् सेवा बन्द हुँदा सदरमुकाम गमगढीलगायत आसपासका ८७ वटा बस्ती प्रभावित भएका छन् ।
विद्युत् सेवा बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवारसहित सरकारी तथा गैरसरकारी कार्यालयहरु प्रभावित भएका हुन् ।
गएको असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । २०६८ सालमा स्थापना भएकोे आयोजनामा पटक–पटक समस्या आउने गरेको छ ।
विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भामले बताउनुभयो ।
विद्युत् गृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुरिएर नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको हो ।
पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि वर्षात्को समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ ।
यही कारणले विद्युत् उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत् आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिनुभयो ।
चार सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एउटा लामो समयदेखि बिग्रिएको छ । मुगुमा राष्ट्रिय प्रशारण लाइन पुगेको छैन ।