गुल्मीको छत्रकोट गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा भएको छ । छत्रकोटअन्तर्गत रहेका १४ वटा स्वास्थ्य संस्थाले पोषणसम्बन्धी सबै सूचक पूरा गरेपछि एक कार्यक्रममार्फत पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो ।
पालिकाले २०७९ जेठ १६ गते वडा नम्बर २ को पल्लिकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै शुरु गरेको अभियानले चाँडै नै सार्थकता पाएको गाउँपालिकाकाे स्वास्थ्य शाखाका प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनुभयाे । यस अभियानअन्तर्गत १२ वटा अनिवार्य मापदण्ड र १६ वटा पोषणमैत्री सूचकका सबै काम पूरा गरेको शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ मा पूर्ण पोषणमैत्री पालिका घोषणाका लागि महिला गर्भवती बनेपछि नियमित जाँच, सुत्केरी जाँच, आइरनको मात्रा पूरा, संस्थागत सुत्केरी, बच्चा जन्मेको एक घण्टाभित्रमा स्तनपान, पूर्ण स्तनपानलगायतका सूचकहरू पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेखनीय कामको सराहना गर्दै आउँदा दिनमा यसलाई घोषणामा मात्रै सीमित नराखी दीर्घकालीनरूपमा निरन्तरता दिन जाेड दिनुभयाे ।