साउनदेखि पुससम्म रगत सङ्कलनमा किन कमी आउँछ ?

वर्षायाम शुरु भएसँगै देशभर रगत सङ्कलन कम हुन थालेको छ । रगत सङ्कलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मङ्सिरसम्म मानिसहरू खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत सङ्कलनमा कमी हुने गरेको हो ।

वर्षाको समय शुरु भएदेखि मङ्सिर/पुससम्म दैनिक झन्डै आठ सय युनिटमात्रै रगत सङ्कलन हुने केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत सङ्कलन हुने गरेको बताउनुभयो । केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत सङ्कलन भएको थियो । उहाँले यस अवधिमा ५४ हजार एक सय २३ युनिट रगत वितरण भएको बताउनुभयो ।

पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको र गएका वर्षहरूको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यक पर्ने बताउनुभयो । देशभर एक सय २० वटा रक्त सञ्चार सेवा रहेको र अहिले देशभर दुई लाख ६२ हजार चार सय ८१ नियमित रक्तदाता रहेका बताउनुभयो । निर्देशक पौडेलले नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव नाै प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताउनुभयो । कुल जनसङ्ख्याको एक दशमलव पाँच प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने उहाँकाे भनाइ छ । नेपालका रक्तदाताहरूको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने उहाँले बताउनुभयो । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔँ भन्ने अभियानलाई पनि अघि बढाएको पाैडेलले बताउनुभयाे ।

उहाँले पाठ्यक्रममै रक्तदानलाई प्रवर्धन गर्ने खालका विषय समावेश गर्नुपर्नेमा जाेड दिनुभयाे । निर्देशक पौडेलले सङ्घ र प्रदेश सरकारले विपन्नहरूलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रबन्ध मिलाउनुपर्ने बताउनुभयो । रक्तदाताका लागि रक्तदाता हुँ भनेर गर्व गर्न लायक प्याकेज ल्याउनुपर्ने उहाँकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?