ताप्लेजुङका नौ वटा पालिकामध्ये चार वटाले आफ्नै प्रशासकीय भवनबाट सेवा दिन शुरु गरेका छन् ।
मेरिङ्देन गाउँपालिकाले आज मङ्गलवारदेखि आफ्नै प्रशासकीय भवनमा कार्यालय सञ्चालन गरेको छ । गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन गर्नुभएको छ ।
गाउँपालिकाका इन्जिनियर पवन पौडेलले पाँच करोड ६१ लाख ४७ हजार रुपैयाँकाे लागतमा प्रशासकीय भवन निर्माण भएकाे जानकारी दिनुभयो । भवन निर्माणका लागि २०७७ असाेज ५ गते गाउँपालिका र मालिकादेवी हिमालय जेभी कम्पनीसँग सम्झौता भएको थियो ।
ताप्लेजुङका मेरिङ्देनसहित फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नै प्रशासकीय भवनमा कार्यालय सञ्चालनमा ल्याएका हुन् । यस्तै सिदिङ्वा, फक्ताङ्लुङ, मिक्वाखोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाले भवन निर्माणको प्रक्रियामा रहेको जनाएका छन् ।