नेपाल विश्वकै सुन्दर देश हुनसक्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर देशहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ । नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसैअनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको उहाँकाे भनाइ छ ।

आज शुक्रवार ललितपुरकाे महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालीगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभयो । उहाँले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘संसारको सुन्दर देशहरूमा सबैभन्दा अगाडि नेपाल हुनसक्छ । तर त्यही ढङ्गको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भइरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटनको हिसाबले आकर्षक क्षेत्रको रूपमा विकास गर्ने शुरुवात गरेको छ, याे काम देशकै हितका लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि, नेपालीले गौरव गर्ने चिजको रूपबाट विकास गर्ने शुरुवात हो भन्ने मलाई लाग्दछ ।’

महालक्ष्मी नगरपालिकाले काठमाण्डाै उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको हाे । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियानअन्तर्गत आउँदाे माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरूको स्मृति पार्क बनाउँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?