सरकारी सवारीको मनलाग्दो प्रयोगले राज्यलाई ब्ययभार बढेको छ । पाल्पामा पनि सरकारी सवारीको मनलाग्दो प्रयोग मौलाएको छ । यो जानकारी हुँदा हुँदैपनि सरकारी सवारी कारवाही गर्न सम्बन्धित निकाय चुकेका छन । अहिले सम्म हजारौँ सर्वसाधरणका सवारी नियन्त्रणमा लिँदा प्रहरीका लागि सरकारी सवारी सबै दुधले नुहाएका जस्ता छन ।
शनिवार डिभिजन वन कार्यालय पाल्पाले बा २ झ २२०९ नं को सरकारी सवारी घुम्नका लागि श्रीनगर डाँडामा पु¥याएको छ । सार्वजनिक विदाको दिन अत्यावस्यक परेमा अनुमति लिएर सरकारी सवारी चलाउनु पर्छ । तर वनले बिना अनुमति गाडि गुडाएको छ । सुरुको कुराकानीमा प्रहरी, बिद्युतका कर्मचारी र वनको जतिबेला पनि काम हुन्छ भन्ने जवाफ दिएका सवारी चालक लक्ष्मण घिमिरेले काठमाण्डौबाट सरहरु आएको र घुमाउनका लागि श्रीनगर ल्याएको बताए । डिभिजन वनको गाडि श्रीनगर डाँडाको पार्किङ स्थलमा राखेर उनिहरु भ्यू टावर तर्फ घुम्न गएका थिए ।
तर डिभिजन वन कार्यालय पाल्पाका निमिक्त प्रमुख संयोग बस्नेतले नजिकको दुरिका लागि बिदाको दिनमा सवारी चलाउनका लागि अनुमति नलिने गरिएको बताए । उनले भने, ‘यस अघि पनि अनुमति नलिई चलाउने गरिएको थियो त्यसैले अनुमति लिईएन ।’ बस्नेतले गाडीको प्रयोग घुम्नका लागि नभई युनाईटेड मिशन अस्पतालमा वाटर ट्रिटमेन्ट प्लानका लागि जग्गा सम्बन्धी कामका लागि भएको हुन सक्ने बताए । तर युनाईटेड मिशन अस्पतालका निमिक्त प्रशासकीय अधिकृत गणेश घिमिरेले भने सो सम्बन्धी कामका बिषयमा आफँु जानकार नभएको र अस्पतालका कुनै कर्मचारीको सहभागीता नरहेको बताए ।
गैर जिम्मेवार ट्राफिक प्रहरी
सरकारी सवारीको दुरुपयोगको विषयमा जानकारी हुँदा समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले कारवाही वा नियन्त्रण गर्न सकेको छैन । उसले सेतो प्लेटको सवारी देखेपछि हात हल्लाउने र अभिवादन गर्ने गरेको जानकारहरु बताउँछन । ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख बरिष्ठ सहि राजकुमार चापागाँईले घर घर गएर गाडी खोजेर कारवाही गर्न नसक्ने अभिब्यक्ति दिएका छन । ‘घर घर जान सकिने कुरा भएन बुझौँला’ उनले भने, ‘हामि थोरै छौँ । पुर्व सुचना र समयमै खवर पाउँदा समेत ‘घर घर जान सकिदैँन’ भन्ने ट्राफिक प्रहरी प्रमुखको जवाफले उनले गर्ने कामको विश्वसनियता माथि प्रश्न गर्न सकिने ठाउँ दिएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले सवारी दुरुपोग नगर्न सबैलाई सचेत गराएको बताएका छन । उनले कार्यलय प्रमुखहरुको बैठकमा समेत कडा निर्देशन दिने बताए । त्यस्तै पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलले सत्यतथ्य बुझ्ने भन्ने दुरुपयोग रोक्ने बिषयमा काम गर्ने जानकारी गराए ।
सरकारी सवारी सामान्य नागरीकले प्रयोग गर्दैनन् । यो प्रयोग गर्ने कम्तिमा नेपाल सरकारको अधिकृत सरहका हुन्छन । वा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधीले सरकारी सवारीमा पहुँच राख्छन । उनिहरुसंग कानुनका कुरा गरेर गुडिरहेको सवारी रोक्ने सम्मको ल्याकत न ट्राफिक प्रहरीले राख्छ न प्रशासनलाई यसका बारेमा हेर्ने फुर्सद छ ।
-नारायण न्यौपाने