जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेस्टर रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बाघको शरीरबाट दुर्गन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ ।
स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय पुगेका थिए । मृत बाघलाई डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।