अदालतले इच्छाराज तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ र मीनाकुमारीलाई दोषी ठहर गरेको हो । तामाङका दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् ।
सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ र मीनाकुमारीलाई दोषी ठहर गरेको हो ।
सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप २ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले जनाए ।
यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ मा इजलास तोकिएको छ । उनीहरूविरुद्ध सिभिल सेभिङएवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेका तर्फबाट सांसदसमेत भएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७९ भदौ १६ मा इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् । तामाङमाथि आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग लगाएको हो ।
विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ । आयोगले तामाङको घर, जग्गा, सम्पत्ति जफतको मागसमेत गरेको छ । तामाङविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । इच्छाराजले आफूले गैरकानुनी रूपमा कमाएको सम्पत्ति छोरीहरू प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी छ ।
विभागले ०७६ सालदेखि नै तामाङ आबद्ध सिभिल सहकारी र कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको थियो । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरेको थियो । मुद्दा भने गत वर्ष मात्र दायर गरेको हो ।
तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले ०७८ पुसमै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सोही निर्देशनअनुसार तामाङ अहिले पनि थुनामा थिए ।
त्यति बेला अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटीमा र एक जनालाई साधारण तारिखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो । सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले ०७८ असोजमा १८ मा तामाङलाई पक्राउ गरेको हो । उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्रिएको हो । सिभिल सहकारीले २ वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको बचतकर्ताहरूले बताएका छन् । सहकारीमा सर्वसाधारणको एक लाखदेखि ८ करोड रुपैयाँसम्म बचत छ ।
०५७ सालमा स्थापित सिभिल सहकारीमा करिब साढे २ वर्षअघि समस्या सुरु भएको हो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर संस्थाले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । सोही अवधिमा संस्थाले करिब ८ अर्ब रुपैयाँ सिभिल होम्सलाई मात्र कर्जा दिएको छ, जुन कानुनविपरीत हो ।