बैंकको खराब कर्जा बढ्यो, नाफा घट्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंक तथा वित्तीय संस्थाको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसलाई आर्थिक गतिविधिमा देखिएको सुस्तीको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परेको रूपमा जानकारहरूले विश्लेषण गरेका छन् ।

अर्थतन्त्र शिथिल हुँदा आर्थिक गतिविधि प्रभावित भएको र यसले ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा घटेको उनीहरूको तर्क छ ।

बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार धेरैजसो वाणिज्य बैंकको खुद नाफा घट्नु र खराब कर्जा बढ्नुले पनि शिथिल अर्थतन्त्रको असर बैंकहरूको वासलातमा परेको पुष्टि हुने उनीहरूको भनाइ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकले २८ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनलामा यो करिब ८.४४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरूको खुद नाफा ३१ अर्ब ३४ करोड रुपैयाँ थियो । यो तथ्यांकका आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा करिब साढे ८ प्रतिशतले घटेको देखिए पनि बैंकरहरूले यसलाई १५ प्रतिशतले कमी भएको बताउँदै आएका छन् ।

गत आर्थिक वर्षको यस अवधिमा ६/७ वटा बैंकले मर्जरपछिको एकीकृत वित्तीय विवरण प्रकाशन गरेका थिए । त्यही वित्तीय विवरणसँग तुलना गर्दा अहिले कम देखिए पनि यथार्थमा करिब १५ प्रतिशतले नाफामा कमी आएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ ।

आर्थिक गतिविधिमा सुस्तता आएपछि त्यसको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको केसीले जनाए । ‘तथ्यांकलाई राम्रोसँग केलाएर हेर्दा औसतमा वाणिज्य बैंकहरूको खुद नाफा करिब १५ प्रतिशतले घटेको देखिन्छ,’ उनले भने, ‘पहिलो त्रैमासभन्दा नाफा केही बढेको र नोक्सानी व्यवस्था घटेको देखिन्छ । पहिलो त्रैमासमा बैंकहरूले करिब १७ अर्ब नोक्सानी व्यवस्था गरेका थिए, अहिले करिब साढे १० अर्ब नोक्सानी व्यवस्था भएको छ । केही बैंकको कर्जा असुली (राइट ब्याक) पनि भएको छ ।’

अर्थतन्त्र चलायमान हुन नसकेको, अपेक्षाअनुसार कर्जा विस्तार नभएको, कर्जा र निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घटेकोलगायत कारण बैंकहरूको नाफा घटेको केसीले बताए । ‘पहिलो त्रैमासमा १ खर्ब १० अर्बभन्दा बढीको कर्जा प्रवाह भएको थियो, दोस्रो त्रैमासमा ५८ अर्ब मात्र गएको छ,’ उनले थपे, ‘अपेक्षाअनुसार न त कर्जा प्रवाह नै भयो, न त असुली नै । स्प्रेड पनि घट्दै गएको छ ।’ कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना सुविधा नभएको भए बैंकहरूको खराब कर्जा झन् माथि पुग्ने उनको भनाइ छ । ब्याजदर घटिरहेको छ, सेयर बजारमा पनि सुधार देखिन्छ, घरजग्गा क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ । तर पनि कर्जा मागमा अपेक्षित सुधार नभएको उनले जनाए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी ९६ अर्ब २० करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यो १७.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएका थिए । समग्रमा १७ वाणिज्य बैंकको नाफा घटेको छ । यस पटक सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक छ । बैंकको एक अर्ब १७ करोडबाट नाफा घटेर ५९ करोड रुपैयाँ पुगेको हो । सबैभन्दा धेरै नाफा बढ्नेमा प्राइम कमर्सियल बैंक छ । बैंकको नाफा ३२.१२ प्रतिशतले बढेर दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जामा समेत सुधार भएको छैन । गत पुससम्म बैंकहरूको खराब कर्जा औसत ३.१७ प्रतिशत छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा दर औसतमा ३.३३ प्रतिशत थियो । गत आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासमा भने यस्तो खराब कर्जा औसतमा २.२९ प्रतिशत थियो । दोस्रो त्रैमाससम्म कुल ४४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूको खराब कर्जा करिब १४ अर्ब १७ करोड बराबर छ । खराब कर्जा बढेसँगै प्रावधानमा राखिने रकमसमेत वृद्धि भएको वित्तीय विवरणहरूले देखाएका छन् ।

वित्तीय विवरणहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंकहरूको अवस्था राम्रो नदेखिएको बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहालले बताए । ‘मेरो विचारमा बैंकहरूमा तथ्यांकमा देखिएभन्दा बढी खराब कर्जा छ जस्तो लाग्छ । यो अझ बढ्दै छ, गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । यसकारण मैले त समस्यै देखेको छु,’ उनले भने, ‘यस विषयमा अर्थमन्त्री, गभर्नरलगायत यो क्षेत्रका जिम्मेवार व्यक्ति एकै ठाउँमा बसेर संवेदनशील भएर छलफल गर्नुपर्छ ।’ अहिले राष्ट्र बैंकले पाँच करोड रुपैयाँसम्मको कर्जालाई पुनर्तालिकीकरण र पुनर्संरचना सुविधा दिएको छ । यो सुविधा नभएको भएको भए बैंकहरूको खराब कर्जा दोस्रो त्रैमासमै धेरै माथि जाने सम्भावना रहेको उनको दाबी छ ।

अर्थतन्त्र शिथिल रहेकाले उत्पादन घट्नुका साथै बजार माग पनि घटेकाले ऋणीको ऋण भुक्तानी क्षमता घट्दा बैंकको वित्तीय विवरण प्रभावित भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जनाए । ‘ऋणीहरू बैंकमा आएर हाम्रो कारोबार शिथिल छ, अहिले साँवा–ब्याज तिर्न सक्दैनौं, धितो लिलाम गर्ने भए गर्नुस् भन्छन्,’ ती अधिकारीले भने, ‘यस्तो अवस्थामा के गर्ने हामी अप्ठ्यारोमा परेका छौं ।’

विद्यमान व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सबै क्षेत्रमा प्रवाह गरेको ५ करोड रुपैयाँसम्मको कर्जा र होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन, निर्माण शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित परियोजनामा लगानीमा रहेको कर्जामा ०८० पुससम्म पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्न पाएका छन् ।

यसअघि यस्तो सुविधा ०८० असारसम्मका लागि मात्र थियो । हाल बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.२५ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि असल कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्थ्यो । यो व्यवस्थाले पनि नोक्सानी व्यवस्था धेरै बढ्न नदिएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?