अयोध्यामा आँखा

सोमबार विश्वभरिका अर्बौं हिन्दु धर्मावलम्बीहरूको आँखा भारतको अयोध्या सहरमा जाँदै छ । अयोध्यालाई श्रीरामको जन्मभूमि मानिन्छ । त्यस अर्थमा हिन्दुहरूको लगाव अयोध्यामा हुनु स्वाभाविकै हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा निर्माण भइरहेको भव्य राम मन्दिरमा सोमबार प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ।

यो मन्दिर पूर्ण रूपमा भने बनिसकेको छैन । पूरा बनिनसक्दै मन्दिरको उद्घाटन गर्न लागेकामा विपक्षी दलहरूले विरोधमात्र गरेका छैनन्, कार्यक्रम नै बहिष्कार पनि गरेका छन् । तथापि मन्दिर उद्घाटन गरी राजनीतिक फाइदा लिन मोदी लागिपरेका छन् । मन्दिर बनाएको जस लिन पाए भारतमा रहेका करोडौं हिन्दुको मत पाएर चुनाव जित्न सहज हुन्छ भन्ने लालसा मोदीको मनमा रहेको छ ।

यही सन् २०२४ मै भारतको ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव हुँदै छ, जसले नयाँ सरकार बनाउनेछ । भाजपालाई हराउन विपक्षी पार्टीहरूले इन्डिया नामको महागठबन्धन बनाएका छन् । विपक्षी पार्टीहरूको आरोप छ, चुनावी लाभ लिनका लागि मोदीले मन्दिरको पूर्ण निर्माण नहुँदै उद्घाटन गर्न खोजेका हुन् ।

मोदीले जस्तै नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्ण निर्माण नभईकनै धरहराको उद्घाटन गरेका थिए, जुन आजसम्म पूरा हुन सकेको छैन । अयोध्यामा पनि बल्लतल्ल मुख्य मन्दिर बनेको छ तर त्यसवरपर बन्नुपर्ने अन्य ७ मन्दिर बनाउन बाँकी नै छ । सम्पूर्ण काम पूरा हुन अझ ३ वर्ष लाग्ने बताइएको छ । त्यस अर्थमा मोदीले हडबड नगरेको भए उचित हुन्थ्यो ।

राम मन्दिरका कारण आज भारतमा धार्मिक र राजनीतिक द्वन्द्व उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरूले एक अर्कालाई रामको विरोधी, अन्य धर्महरूप्रति असहिष्णु भनेर आरोप–प्रत्यारोप गरिरहेका छन् । प्रतिपक्ष पार्टीहरूले उद्घाटन समारोह नै बहिष्कार गर्ने घोषणा गरेका छन् । धर्ममा राजनीति मिसिँदा यस्तै अनुचित काम हुँदा रहेछन्, जुन खेदजनक छ ।

मोदीको १० वर्षे शासनकालमा अल्पसंख्यक जातजाति र धार्मिक अल्पसंख्यकमाथि निकै विभेद हुने गरेको आरोप भारतमा मात्रै होइन, बाहिर बसेका विज्ञ विश्लेषकहरूले पनि लगाएका छन् । धर्मका नाउँमा द्वन्द्व बढ्नु, बढाउनु राम्रो होइन । धर्मलाई राजनीतिक लाभहानिभन्दा पर्यटन अभिवृद्धिसँग जोड्नुपर्छ । अयोध्यामा जस्तै विकास नेपालका जनकपुर र लुम्बिनीमा गर्न सके लाखौं पर्यटक आउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?