१ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालमा सरकारले नर्सिङ पढाउने

सरकारले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे आजकाे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताउनुभयो । उहाँले आउँदाे ३ दिनभित्र यसलाई मन्त्रिपरिषदमा लैजाने पनि जानकारी दिनुभयाे ।

सचिव पाेखरेलले स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले लोक सेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताउनुभयो ।

सचिव पोखरेलले चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले ४९ अर्ब ८० करोड बजेट पाएकाेमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड रुपैयाँ अर्थात् झन्डै २१ प्रतिशत खर्च भएको जानकारी पनि दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?