शिक्षा स्वास्थ्य समितिले स्वास्थ्यमन्त्रीलाई माग्यो प्रगति विवरण

संघीय संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग मन्त्रालयको प्रगति विवरण माग गरेको छ ।

समितिले मन्त्री बस्नेतलाई मन्त्रालयको प्रगति विवरणसहित छलफलका लागि समितिको बैठकमा उपस्थित हुन भनेको हो । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्यमन्त्री बस्नेतसँग नै छलफल गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले बताए ।

बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका सचिवसहितले दिएको प्रस्तुति चित्तबुझ्दो नभएको भन्दै समितिले त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरेको हो । बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रुपमा नै समितिमा बुझाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘हामीले एउटा कुरा त मन्त्रीज्युलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमती गर्‍यौं । दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरुको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौं । तेस्रो भनेको स्वास्थ्यसँग आवद्ध भएको स्वायत्त निकायहरु खासगरी बीमा बोर्ड राष्ट्रिय चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुसँग पनि छुट्टा-छुट्टै बैठक गर्ने भन्ने निर्णय गर्‍यौँ,’ उनले भने ।

समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरुको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरु राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टा-छुट्टै छलफल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?