फागुन १९ देखि झापा गोल्डकप

झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आगामी फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ ।

 

झापा गोल्डकप आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी गोल्डकपको छैटौं संस्करणको आयोजनाबारे जानकारी दिएको हो । गोल्डकप नियमित रंगशाला बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

गोल्कडपमा आयोजक झापा–११ सहित नेपालका ७ र ३ विदेशी गरी १० टिमको सहभागिता रहने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । यस वर्ष गोल्डकप विजेता टिमले नगद १३ लाख तथा उपविजेता टिमले नगद ७ लाख रुपैयाँ प्राप्त गर्ने बस्नेतले बताए । उनका अनुसार यस वर्ष विजेता र उपविजेता दुवै पुरस्कारमा नगद ५०/५० हजार रुपैयाँ वृद्धि गरिएको छ ।

गोल्डकपमा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ । गोल्डकपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही नगद २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने उनको भनाइ छ ।

२०७२ देखि सुरु भएको झापा गोल्डकप कोभिडकालमा दुई वर्ष तथा गत वर्ष आयोजना हुन सकेन । छैटौं संस्करणको उद्घाटन समारोहमा जिल्लाका एक जना पुराना फुटबल खेलाडी तथा रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५/२५ हजारसहित सम्मान गरिने बस्नेतले बताए । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

मोफसलको सफल एवं लोकप्रिय गोल्डकपको चिनारी बनाएको झापा गोल्डकपका यसअघिका पाँचवटै संस्करणमा रकम बचत भएको कोषाध्यक्ष गिरीले जानकारी दिए । उनकाअनुसार आयोजक समितिसँग अहिले ९८ लाख ८८ हजार २ सय १३ रुपैयाँ नगद बचत छ ।

गोल्डकपका लागि डोमालाल राजवंशी रंगशाला मर्मतको कामसमेत मंगलबारदेखि नै सुरु गरेको गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?