उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औं योजनाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक योजनाका बारेमा छलफल गरेका हुन् । उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के-कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औं योजना तर्जुमा गर्न सुझाव दिए ।
१६ औं योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीहरूको ध्यानाकर्षण गराए । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागू हुनेगरी बनाउनु पर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो । उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे ।
अहिले विकास निर्माण गर्दा देखापरेका धेरैजसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले अहिले विकास निर्माण गर्दा देखापरिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानीको झन्झटिलो व्यवस्थाको सही विकल्प पहिचान गरी योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गरे । कुनै पनि योजना बनाउँदा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी काम गर्न आग्रह गरे ।