शोभा विक १८ वर्षकी भइन् । कक्षा १० मा पढ्दै गरेकी उनको दुई वर्षअघि विवाह भएपछि पढाइ छुट्यो । अहिले उनको काखमा ९ महिनाकी छोरी छन् । भर्खर १९ वर्ष टेकेकी शोभाकी छिमेकी हिमाली विक झन् दुई जत्काल (सुत्केरी) बसिसकिन् । आठ महिने शिशु बिरामी भएपछि उनी गत साता मुक्तिकोटबाट फयाल गाउँमा धामीझाँकीकहाँ जाँदै थिइन् । उनकै गाउँकी १७ वर्षकी एक कलिली आमाले तीन महिनाकी छोरी हुर्काइरहेकी छन् ।
बाजुराको विकट स्वामीकार्तिक खापर गाउँपालिकाको साप्पाटा र मुक्तिकोट गाउँका यी तीन किशोरी आमा प्रतिनिधि पात्र मात्रै हुन् । कलिलै उमेरमा विवाह गर्ने साप्पाटा क्षेत्रमा २० वर्ष नपुग्दै एक/दुई पटक सुत्केरी नभएका महिला मुस्किलै भेटिन्छन् । प्रायः आठ–नौ कक्षा पढ्दै विवाह हुने भएकाले मुक्तिकोटका किशोरीको लगत्तै पढाइ छुटेको छ । बिहे गरेपछि महिला मात्रै होइन, यहाँका पुरुषले पनि विद्यालय छाड्छन् । यसै वर्ष २० वर्ष पुगेका हिमालीका श्रीमान् मंगलले तीन वर्षअघि १० कक्षाको पढाइ छाडेका थिए ।
साप्पाटाको फयालगाउँस्थित राघुमाता माध्यमिक विद्यालयका शिक्षक दिलबहादुर रोकाया साप्पाटामा उमेर नपुग्दै विवाह गर्ने समस्या जकडिएर बसेको बताउँछन् । ‘हाम्रै स्कुलमा पनि वैशाखयता ८ देखि १० कक्षा पढ्ने चार छात्राले विवाह गरेर पढ्न छाडेका छन्,’ उनले भने, ‘विवाह गरिसकेपछि छात्राहरू लजाएर स्कुल छाड्छन् भने छात्रहरू पनि धेरैले घर व्यवहारको जिम्मेवारी लिनुपर्ने भएकाले कक्षा पूरा नगर्दै विद्यालय छाड्छन् ।’
साप्पाटाको मुक्तिकोटमा २ सय ५५ दलित परिवारको बसोबास छ । घरको उब्जनीले तीन महिना खान पुग्ने एउटै परिवार छैन । रोजीरोटीका लागि स्कुल छाडेर युवा मजदुरी गर्न भारततिर हिँड्छन् । ‘विवाह गर्नेबित्तिकै परिवारको बोझ थपिन्छ, गुजाराकै लागि स्कुल छाडेर केटाहरू भारत हिँड्ने चलन छ,’ शिक्षक रोकायाले भने, ‘गाउँभरिमा १८–२० परिवारमा मात्रै विवाह गरेका केटा घरमा होलान्, अरू मजदुरी गर्न भारत गएका छन् ।’ हिमालीले छाक टार्नै मुस्किल भएपछि श्रीमान् मंगल गत मंसिरमा भारततिर गएको बताइन् ।
उमेर नपुग्दै विवाह गर्ने चलन रहेको यस क्षेत्रका महिलाले अनेक स्वास्थ्य समस्या झेलिरहेका छन् । साँझ–बिहानको छाक टार्न धौधौ हुने मुक्तिकोटका महिलामा पौस्टिक खानाको कमीलगायत कारणले धेरैको स्वास्थ्य कमजोर छ । कलिलो उमेरका आमाहरू पनि वृद्धावस्थाका जस्ता देखिन्छन् । ‘कलिलै उमेरमा गर्भ बोक्ने र बढी बच्चा जन्माउने, रोग लागे उपचार गर्न नमान्ने चलन छ,’ मुक्तिकोट आधारभूत स्वास्थ्य केन्द्रकी अनमि माला शाहीले भनिन्, ‘यहाँका धेरै महिला रक्तअल्पता, दम, आङ खस्ने, पाठेघरसम्बन्धी रोगजस्ता समस्या झेलिरहेका छन् ।’ छाक टार्न धौधौ हुने परिवारमा पोषिलो खानेकुरा पाउनु असम्भवजस्तै हुने उनले बताइन् । यहाँ गरिबीको चक्र चलिरहने मुख्य कारण बालविवाह, कम उमेरमा बच्चा जन्माउने र बढी बच्चा जन्माउनु रहेको उनको भनाइ छ ।
गत असोजमा गाउँपालिकाको केन्द्र सुइजिउलामा सञ्चालन भएको विशेषज्ञ स्वास्थ्य शिविरमा उपचारका लागि आएका साप्पाटाका धेरै महिलामा प्रजनन स्वास्थ्य समस्या पाइएको थियो । ‘शिविरमा जचाउन आएका ८ सय ६४ महिलामध्ये ४ सय ३५ मा त्यस्तो समस्या देखिएको थियो,’ गाउँपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब भक्त कैलाले भने । उमेर नपुग्दै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, आराम गर्न नपाउने समस्याले साप्पाटालगायत क्षेत्रका महिलाको स्वास्थ्य कमजोर छ । त्यही कारण विभिन्न रोगबाट साप्पाटा क्षेत्रका महिला ग्रस्त देखिएको कैलाले बताए । उमेर नपुग्दै विवाह गरेकै बच्चाको स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको देखिएको छ । बाजुरामा विपन्न परिवारका बालबालिका कुपोषणग्रस्त छन् ।
गत वर्ष सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ स्थानीय तहका ४ सय ६७ जनामा गरेको स्मार्ट सर्वेक्षणअनुसार बाजुराका ६ देखि ५९ महिनाका ४८.८ प्रतिशत बालबालिकामा पुड्कोपन, ३०.६ प्रतिशतमा कम तौल र ८.६ प्रतिशतमा ख्याउटेपन पाइएको थियो । उक्त सर्वेक्षण अनुसार उमेर अनुसार कम तौल भएका बालबालिका सबैभन्दा धेरै स्वामीकार्तिक खापरमा भेटिएका थिए । सर्वेक्षणअनुसार स्वामीकार्तिक खापरमा ५१.२ प्रतिशत बालबालिका कम तौलका छन् । जन्मिँदै कम तौल भएका नवजात शिशुको राष्ट्रिय अवस्था १२ प्रतिशत रहेको छ भने सुदूरपश्चिमको २० प्रतिशत छ । दिगो विकास लक्ष्यको परिकल्पना अनुसार २०३० सम्म १.४ प्रतिशतमा झार्नुपर्ने छ ।
‘अबको सात वर्षभित्र स्वामीकार्तिक खापरमा ५१.२ प्रतिशतबाट १.४ प्रतिशतमा झार्नु चुनौतिपूर्ण छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डीएन गिरीले भने । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण प्रतिवेदन, २०२२ अनुसार नेपालमा ६ देखि ५९ महिनाका बालबालिकामा उमेर अनुसार कम तौलको अवस्था १९ प्रतिशत रहेकामा सुदूरपश्चिमको १३.९ प्रतिशत छ । सोही उमेरका बालबालिकामा पुड्कोपनाको अवस्था राष्ट्रिय २५ प्रतिशत रहेकामा सुदूरपश्चिमको २८.४ प्रतिशत छ । तर, बाजुराका बालबालिको पुड्कोपनाको अवस्था ४८.८ प्रतिशत छ । बालबालिकामा रक्तअल्पताको अवस्था राष्ट्रिय अवस्था ४३ रहेकामा सुदूरपश्चिमको ४५ प्रतिशत छ । महिलाहरूमा बीएमआई (उचाइ अनुसार तौल) को राष्ट्रिय अवस्था १७ प्रतिशत छ भने सुदूरपश्चिको २२ प्रतिशत रहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार यसको प्रमुख कारण पोषणको अपुग हो ।
जिल्लामा सबैभन्दा धेरै जगन्नाथ गाउँपालिकाका कुपोषणग्रस्त बालबालिका रहेको पाइएको थियो । जगन्नाथमा ५८.१ प्रतिशत पुड्कोपना, २५.६ प्रतिशतमा कम तौल र १४ प्रतिशत बालबालिकामा ख्याउटेपना पाइएको तथ्यांक अधिकृत गिरीले बताए । ‘स्वामीकार्तिक खापर गाउँपालिकामा ५५.८ प्रतिशतमा पुड्कोपना, ५१.२ प्रतिशतमा कम तौल र ११.६ प्रतिशत बालबालिकामा ख्याउटेपना पाइएको थियो,’ गिरीले भने, ‘बाजुराका स्वामीकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिकाका बालबालिका कुपोषणबाट अत्यधिक प्रभावित छन्,’ बहुक्षेत्री पोषण योजनाका सुदूरपश्चिम प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीले भने, ‘साप्पाटाको मुक्तिकोटमा त धेरै महिलाले कम उमेरमा बच्चा जन्माउने, बढी बच्चा जन्माउने, बिरामी परे समयमै स्वास्थ्य संस्थामा उपचार गर्न नलैजाने र घरमा खानाको समस्या भएका परिवार छन् ।’
बालविवाह रोकथामका लागि बालविवाह गरेको पाइएमा बिच्छेद गरेर केटीलाई माइती घर पुर्याइदिने निर्णय गरेको स्वामीकार्तिक खापर–१ का वडाध्यक्ष अजय विक बताउँछन् । ‘एक वर्षको अवधिमा उमेर नपुगी विवाह गरेका १२ जोडीलाई बिच्छेद गरायौं । तर, दुवै पक्षका अभिभावक मिल्ने भएकाले उपलब्धिमूलक देखिएको छैन,’ उनले भने, ‘हालै मात्र उमेर नपुगी विवाह गरेकी किशोरीलाई माइतीमै फर्कायौं । तर, अहिले त उनी गर्भवती भएको जानकारी आएको छ ।’
बाजुरामा बालविवाह गर्ने र उमेर नपुग्दै बच्चा जन्माउने प्रचलन रहेको विभिन्न अध्ययन प्रतिवेदनले पनि देखाउँछन् । स्वास्थ्य कार्यालय बाजुराका अनुसार २०७९ अनुसार बाजुराका ३ हजार ६१ सुत्केरीमध्ये ४ सय ३५ जना २० वर्षभन्दा कम उमेरका छन् । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दका अनुसार बाजुराका ६ प्रतिशत किशोरीले स्वास्थ्य संस्थामा गर्भपतन गराएको तथ्यांक छ । ‘घरमै सुत्केरी हुने पनि छन्,’ चन्दले भने, ‘यो तथ्यांक त हाम्रो रेकर्डमा आएकाको मात्रै हो ।’
राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुरामा विवाहित महिला/पुरुषको संख्या ६९ हजार ९८ छ । त्यसमध्ये २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८ सय १० छ । ३० हजार ६ सय २७ महिला र १९ हजार १ सय ८३ पुरुषले २० वर्ष उमेर नपुग्दै विवाह गरेको तथ्यांक छ । ‘घरपरिवार सचेत नहुँदासम्म बालविवाह रोक्न कठिन हुने देखिन्छ,’ हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल भन्छन्, ‘तुलनात्मक रूपमा पहिलाका भन्दा केही घट्दो क्रममा त छ । तर, विकटका ग्रामीण बस्तीहरूमा समस्या जर्जर छ । यो प्रचलन घटाउन हाम्रो प्रयास पनि निरन्तर छ ।’
सुरक्षा निकायको सहकार्यमा बालविवाह दण्डनीय अपराध हुने जनचेतनाको प्रवाहलाई बढाउने योजनामा रहेको स्वामीकार्तिक खापरका अध्यक्ष भरतबहादुर रोकायाले बताए । ‘स्थानीय प्रहरीसँगको सहकार्यमा बालविवाहको असरका विरुद्ध सचेतनात्मक कार्यक्रम पनि गरिरहेका छौं,’ उनले भने, ‘घरमा खानलाउन अभाव हुने भएकाले छोरीले जतिसक्दो चाँडो विवाह गरेर गए हुन्थ्यो भन्ने भावना पनि देखिन्छ । यो सब गरिबीकै कारणले हो ।’