माघ ११ देखि मञ्चनको अन्तिम तयारीमा रहेको नाटक ‘मासिन्या’मा तामाङ समुदायमाथि राज्यसत्ताले गरिरहेको विभेद समेटिएको कवि तथा लेखक राजु स्याङ्तानले बताए ।
राजुसहित राबत र लक्ष्मी रुम्बाले लेखेको यो नाटकलाई तामाङ समुदायमाथिको विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको उनले हालै एक पत्रकार भेटमा बताए ।
‘मासिन्याले जङ्गबहादुरको समयदेखि अहिले सम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा भन्छ,’उनले भने,’हामीले कविता त लेख्यौं, यतिले पुगेन भन्ठानेर नाटक ल्यायौं । हाम्रो मौलिकता बोकेको माटो, हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौं ।’
नाटकलाई डेढ वर्ष लगाएर लेखिएको अर्का लेखक लक्ष्मी रम्बा सुनाउँछिन् । ‘आफ्नो कथा सुनाउन एकदममै हिम्मत चाहिँदो रहेछ । यो पटक हामीले हिम्मत गरेर तामाङ समुदायले भोगेको विभेदको कथा ल्याएका छौं,’मंगलबार पत्रकार भेटमा लक्ष्मीले भनिन् । कार्यक्रममा लेखकसहित नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष गणेश योन्जन लगायतकाको सहभागितामा थियो ।
माघ २८ सम्म मञ्चन हुने नाटकलाई बुद्धि तामाङ र सोनाम लामाले निर्देशन तथा परिकल्पना गरेका छन् । रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ,सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवार लगायतको कलाकारले नाटकमा अभिनय गरेका छन् ।