नागमती बाँध परियोजना र प्रभावबारे अन्तरक्रिया

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत नहुँदा अलपत्र परेको नागमती बाँध आयोजनाबारे काठमाडौंमा एक अन्तरक्रिया सम्पन्न भएको छ । तत्कालीन सोभियत संघ र कमनवेल्थ राष्ट्रहरूमा पढेर फर्किएका नेपाली विज्ञहरूको संस्था मित्रकुञ्जको थिंकट्यांक उपसमितिले मंगलबार नागमती बाँध परियोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कमलपोखरीस्थित रुसी भवनको हलमा आयोजित कार्यक्रममा वाग्मती नदी बेसिन सुधार परियोजनाअन्तर्गतको ‘नागमती बाँध आयोजना’ को सान्दर्भिकता र यसका असरसम्बन्धी विषयमा छलफल भएको हो ।

कार्यक्रममा वरिष्ठ इन्जिनियर एवं जलस्रोतविद् रविप्रसाद राजभण्डारीले नागमती परियोजना वातावरणीय रूपमा अनुकूल नभएको बताए । उनले नागमती परियोजना बने काठमाडौंवासीका लागि ‘टाइम बम’ र ‘घाँटीको तरबार’ हुने बताए । प्रतिसेकेन्ड ४ सय लिटर पानीको बहाव बढाउन निर्माण गर्ने भनिएको नागमती ड्याम शिवपुरी–नागार्जुन निकुञ्जको मध्यभागमा निर्माण हुने बताइएको छ । प्रस्तावित बाँध ९५ मिटर अग्लो हुने बताइएको छ । राजभण्डारीले बाँध बनेर कथंकदाचित फुटिहालेमा काठमाडौंको सभ्यता क्षणभरमै सकिने पनि चेतावनी दिए ।

उनले भने, ‘वाष्पीकरण र चुहावटले पशुपतिसम्म थोरै मात्र पानी आइपुग्छ । नेपाल भूकम्पका हिसाबले उच्च जोखिममा रहेको मुलुक पनि हो । यसै वर्ष सिक्किमको टिस्टा र लिबियाको डेर्ना बाँध विस्फोटबाट पनि पाठ सिक्नुपर्छ । काठमाडौंको नाकैमाथि बन्ने नागमती बाँध काठमाडौंवासीका लागि टाइम बम बन्न सक्छ ।’ २५ अर्ब निकै ठूलो रकम भएकाले पनि बाँध निर्माणको औचित्यबारे राजभण्डारीले प्रश्न उठाए । ‘राष्ट्रलाई ऋणको भार बोकाएर अन्य वैकल्पिक उपायको खोजी नै नगरी यस्तो जोखिम धेरै भएको उच्च बाँध निर्माण गर्नु कुनै पनि दृष्टिकोणबाट ठीक छैन, यो रोकिनु पर्छ,’ उनले भने ।

कार्यक्रममा टिप्पणीकारका रूपमा रहेका प्राध्यापक हरि पण्डितले नागमती बाँधको डिजाइनमा अपनाइएका जल तथा मौसम विज्ञानसम्बन्धी डेटाहरूको विश्लेषणात्मक विवरण प्रस्तुत गरेका थिए । प्राध्यापक पण्डितले वाग्मती प्रदूषण हटाउन गरेको प्रयास सकारात्मक भए पनि नागमती बाँध उचित समाधान नभएको बताए । ‘वाग्मती प्रदूषण अति छ, त्यसका लागि गरेको प्रयास सकारात्मक भए पनि यो बाँध उचित समाधान होइन, बरु फोहोर ढल नमिसाए मात्र वाग्मती सफा हुन्छ,’ उनले भने, ‘यति घना जनसंख्या भएको काठमाडौं उपत्यकाको शिरमा यस्तो प्रकृतिको बाँध बनाउनु नै त्रुटिपूर्ण छ, सानो पानीको जलाशय भए पनि दुर्घटना भएमा सबै पानी केही निमेष भरमै निस्कन्छ र सहर ध्वस्त पार्न काफी छ।’ आयोजनामै प्राविधिक त्रुटि भएको र प्राकृतिक प्रकोप नथेग्ने पनि उनले बताए ।

नेपाल विद्युत प्राधिकरणका पूर्व उपप्रबन्ध निर्देशक वरिष्ठ इन्जिनियर मोहन रत्न शाक्यले प्रस्तावित बाँधको लाभ न्यूनतम रहेको, डाउनस्ट्रीमका काठमाडौं उपत्यकाका जनतालाई गम्भीर जोखिममा पार्ने र डिजाइन सन्तोषजनक नरहेको बताए । उनले आईएलओ महासन्धि-१६९ अनुसार प्रभावित क्षेत्रका बासिन्दासँग पूर्वसूचित सहमति पनि नलिइएको बताए ।

वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले नेपालमा योजना छनोटमै समस्या देखिने बताए । उनले भने, ‘हाम्रो मुलकमा यतिका धेरै जोखिम भएका र प्रतिफल लगभग नभएका आयोजनाको छनोट किन गरिन्छ, गहन प्रश्न छ ।’

वरिष्ठ इन्जिनियर भोला छत्कुलीले काठमाडौंको शिरमा बन्ने बाँध कुनै पनि कारणबाट भत्केमा यसले पुर्‍याउने क्षति विकराल हुने बताए । कार्यक्रममा जलविद्युत् विकास र बाढी व्यवस्थापन विज्ञ प्रा. गोविन्द पोखरेलले उपत्यकामा पर्ने वर्षाको उपयुक्त व्यवस्थापनबाट मात्र पनि वाग्मती रिचार्ज गर्न सकिने उल्लेख गर्दै वैकल्पिक उपाय नसोची केबल सुन्दरीजलमा पासो थापेर पानी बगाउने सोच कच्चा रहेको बताए । वरिष्ठ इन्जिनियर राजेन्द्र शर्मा काफ्लेले पच्चीस अर्ब खर्चेर बनाइने आयोजनाबाट आर्थिक प्रतिफल प्राप्त हुन्छ/ हुँदैन भन्ने विषयमा गम्भीर विश्लेषण हुनुपर्ने बताए ।

नागमती बाँध निर्माण गरेर वर्षाको पानी जम्मा गर्नेबारे सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । अस्ट्रेलियन परामर्शदाता कम्पनी एन्टुरा र टीएमएस नेपालले अध्ययन गरेका हुन् । यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । जसले करिब ५० हेक्टर जमिन ओगट्नेछ । ड्याम निर्माणको क्रममा साना–ठूला गरी करिब ३०/३५ हजार रूख काटिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?