मधेश प्रदेशका विद्यालयबाहिर रहेका किशोरीहरुको गणितीय शिक्षामा पहुँच र साक्षरता वृद्धि गर्न सञ्चालित आरम्भ परियोजनाबाट बारा र रौतहटका ९ हजारभन्दा धेरै किशोरीहरु लाभान्वित भएका छन् । परियोजनाले गएको ५ वर्षको अवधिमा दुई जिल्लाका ९ हजार ४ सय ९७ जना किशोरी र तिनका परिवारका सदस्यहरु लाभान्वित भएको दाबी गरेको छ ।
आइतबार कलैयामा सम्पन्न परियोजनाको सिकाई आदान प्रदान तथा समापन कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
परियोजनाकी तथ्यांक अधिकृत बिन्दु गुरुङ्गले परियोजनाले रौतहट र बाराका २२ पालिकामा ९ हजार ४ सय ९७ जना किशोरी तथा तिनका परिवारका सदस्यहरुलाई सहयोग गरेको बताइन् ।
उनका अनुसार मधेशमा विद्यालय बाहिर रहेका किशोरीहरुमा गणितीय शिक्षामा पहुँच र साक्षरता वृद्धिका साथै जीवन उपयोगी सीपको विकास गर्न परियोजनाले सन् २०१८ देखि काम गर्दै आएको छ ।
परियोजनाले विद्यालयबाहिर रहेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने र भविष्यमा लागि जीवन योजना बनाउने, विद्यार्थीलाई विद्यालयमा सिक्नका लागि अनुकुल वातावरण सिर्जना गर्ने, विवाहित र विद्यालय बाहिर रहेका किशोरीहरुका लागि भावी योजना बनाउन समेत सहयोग गरेको छ ।
उमेर पुगेरमात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकारात्मक सामाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने काम पनि परियोजनाले गरेको उनको दाबी छ ।
गुरुङ्गले पिपुल इन निड, गर्ल्स एजुकेशन च्यालेन्ज, युकेएड लगायतका संस्थाहरुको लगानी तथा स्थानीय पालिकाहरुसँगको समन्वयमा यो परियोजना सन्चालन गरिएको बताइन् ।
परियोजनाले गाउँपालिका र नगरपालिकाहरुसँगको साझेदारीमा १० देखि १९ बर्ष उमेर समूहका विद्यालयबाहिर रहेका किशोरीहरुको पहिचान गरी १० महिने अनौपचारिक कक्षा समेत सन्चालन गरेको थियो ।