सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) ले नेपालमा २० करोडसम्म सिधै लगानी गर्नसक्ने सम्झौता सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । समाजवादीको सोमबार सकिएको राष्ट्रिय परिषद् बैठकले प्रस्ताव नै पारित गरी यो माग गरेको हो ।
‘नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भएका र भारतका विदेश मन्त्री नेपालको भ्रमणमा आउँदा भएका विद्युत् व्यापार, जलश्रोत र भारतीय दूतावासले दिने २० करोड अनुदानलगायतका सम्झौता र समझदारीबारे गम्भीर प्रश्न उठेका हुनाले उक्त अवसरमा भएका सम्झौता र सहमति सार्वजनिक गर्न यो बैठक सरकारसँग माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ ।
भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणका बेला पुस १९ मा भारतले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्ने सम्झौता भाएको छ । यसअघि पाँच करोडसम्म सिधै लगानी गर्नसक्ने सीमा तोकिएको थियो । सरकारले अर्थ मन्त्रालयको स्वीकृतिमा योजना छनौट हुने दाबी गर्दै आएको छ ।
समाजवादीले लिम्पियाधुरा तथा कालापानीलगायत क्षेत्रहरूमा भारतबाट भएको अतिक्रमणको विरोध गरेको छ । ‘मुलुकको लिम्पियाधुरा तथा कालापानीलगायतका क्षेत्रहरूमा भएको अतिक्रमणको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न नेपाली जनताले दबाब बढाइरहेकोमा हाम्रो पार्टी यसमा ऐक्यबद्धता प्रकट गर्दछ र सो क्षेत्र फिर्ता गराउन नेपाल सरकारले प्रभावकारी कदमहरू चाल्न जोडदार माग गर्दछ,’ समाजवादीको निर्णयमा भनिएको छ, ‘यसैगरी अन्तर्राष्ट्रिय सीमाका धेरै ठाउँमा विवाद रहेको, दशगजा तथा नेपाली भूमिसमेत मिचिएको, सीमा स्तम्भहरूसमेत चलाइएको अवस्थाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकार लाई नेपालको भूमि र सीमा रक्षा तथा व्यवस्थापन गर्न दृढतापूर्वक कदम चाल्न आह्वान गर्दछ ।’
बैठकले चिनियाँ कम्युनिस्ट पार्टीले एकीकृत समाजवादीलाई महत्त्व दिएर अध्यक्ष माधवकुमार नेपाललाई निम्ता गरेकोमा समेत धन्यवाद दिएको छ ।