फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बाग्लुङकाे बाग्लुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् ।

बाग्लुङ नगरपालिकामा भएको एक कार्यक्रममा दुवै नगरपालिकाका मेयर र कोरियाको ‘एएलके ईसीओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता भएको हो । कोरियाको वातावरण विभागअन्तर्गतको ‘एएलके ईसीओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ । कोरियाली कम्पनीले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ का लागि प्रविधि उपलब्ध गराउने छ । साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ । कम्पनीले फोहर व्यवस्थापन गर्ने उपकरण नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क मर्मत गरिदिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक ज्ञान दिनेछ । केही समय कोरियाका प्राविधिकले यहीँ आएर उपकरण चलाउने तालिमसमेत दिनेछन् ।

बाग्लुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बाग्लुङ पोखरा सडकको छमर्के नजिकै फोहर फाल्दा दुर्गन्ध फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?