कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुंगो लगाउने बताएका छन । उनले यही माघ २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक निर्माणको अधिवेशनको रुपमा अगाडि बढाएको बताए ।
उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसँग जोडिएका २०-२५ वटा विधेयक पेस गर्ने तयारी भएको जानकारी गराए ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले टिआरसी विधेयक र प्रहरी सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउनको लागि शीर्षतहमा सहमतिको प्रयास भइरहेको बताउँदै सहमति हुन नसकेपनि प्रक्रियाबाट अगाडि बढाउने दाबी गरे ।
संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेक सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको उनको भनाइ छ । ‘मैले प्रमुख तीन दलका तीन नेतालाई यो तपाईंहरूको विषय हो भन्दै आएको छु,’ उनले भने, ‘यसमा केही विषयमा मात्रै मत भिन्नता छ, अब टुंगोमा पुग्नुपर्छ ।’ नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने जनाए ।
उनले तत्काल मन्त्रिपरिषद् पुनःगठनको सम्भावना नरहेको पनि बताए ।