मन्त्री ज्वालाकाे चेतावनी : ‘नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ भए सह्य हुँदैन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (सीएससीईसी) लाई पुनः निर्देशन दिनुभएको छ । उहाँले थपिएको समयभित्र काम सम्पन्न नभए अब म्याद नथपिने पनि स्पष्ट पार्नुभएको छ ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार, सडक विभागका महानिर्देशक, सांसद र पालिकाका जनप्रतिनिधिसमेतको बैठकमा मन्त्री ज्वालाले अब कुनै कारणले यो परियोजनामा ढिलाइ भएमा सहन नसक्ने चेतावनी पनि दिनुभयो ।

बैठकको संयोजन गर्नुभएका सांसद विनोद चौधरीले ठेकेदारले हरेक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुनेगरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले नारायणगढ–बुटवल सडक तत्काल मर्मत गरी सहजरूपमा गाडी आवतजावत हुने वातावरण बनाउन पनि माग गर्नुभयो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले आउँदो फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजार क्षेत्रमा कालोपत्र गरिसक्ने जानकारी दिएका छन् । पटक पटक म्याद थपेर नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का सम्झौतालाई आउँदो सेप्टेम्बर महिनासम्म पुर्‍याइएको छ । तर थपिएको यो मितिमा पनि काम सम्पन्न हुने सम्भावना छैन । सडक बेहाल हुँदा स्थानीयवासी र यात्रु हैरान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?