वेस्ट इन्डिजमाथि अस्ट्रेलियाकाे ‘क्लिन स्वीप’

वेस्ट इन्डिजसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको छ ।

क्यानबेरामा आज भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै ३ खेलको शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको हो । वेस्ट इन्डिजले दिएको ८७ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २ विकेट गुमाएर २ सय ५९ बलअघि नै भेटायो । अस्ट्रेलियाका जेक फ्रेसरले ४१ र जोश इङ्लिसले नट आउट ३५ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफ र ओशेन थोमसले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज २४ ओभर १ बलमा ८६ रनमा अल आउट भयो । वेस्ट इन्डिजका अलिक एथान्जेले ३२ रन बनाए । अस्ट्रेलियाका जेभिएर बार्टलेटले ४ विकेट लिए ।

आजको खेल अस्ट्रेलियामा खेलिएकोमध्ये सबैभन्दा छिटो सकिएको पुरुष एकदिवसीय क्रिकेट बनेको छ । अस्ट्रेलिया पहिलो एकदिवसीयमा ८ विकेट र दोस्रो एकदिवसीयमा ८३ रनले विजयी भएको थियो ।

यी दुईबीच आउँदो शुक्रवारदेखि ३ खेलको टी–२० क्रिकेट शृङ्खला हुनेछ । यसअघि भएको २ खेलको टेस्ट क्रिकेट शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?