पाँचथरको अमरपुरबाट ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको डबल सर्किट प्रसारण लाइन निर्माण शुरु

नेपाल विद्युत् प्राधिकरणले पाँचथरको अमरपुर सबस्टेशनबाट ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेशनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण शुरु गरेको छ ।

झापाको दमक सबस्टेशनबाट अमरपुर सबस्टेशनसम्मको काबेली करिडोर प्रसारण लाइन र सुनसरीको इनरुवा सबस्टेशनबाट सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न अमरपुर–ढुङ्गेसाँघु लाइन निर्माण शुरु गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीयवासीलगायतको उपस्थितिमा अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्नेछ । प्रसारण लाइनबाट दुई सय मेगावाट बिजुली प्रवाह गर्न सकिने छ ।

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूको बिजुलीलाई विश्वसनीय तथा प्रभावकारीरूपमा प्रवाह गर्न अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण शुरु गरेको आयोजना प्रमुख अनुप गौतमले बताउनुभयो । यसले पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय बिजुली आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?