भोलिदेखि काठमाण्डौको मच्छेनारायणमा पुरुषोत्तममास मेला

काठमाण्डौको मच्छेनारायणमा भोलि मङ्गलवारदेखि पुरुषोत्तममास मेला शुरु हुँदैछ । पुरुषोत्तममास अर्थात् मलमासमा अरू कुनै शुभकार्य तथा भगवानको पूजा नहुने समयमा मच्छेनारायण मन्दिरमा मेला लाग्ने हुँदा यसको ठूलो महत्त्व रहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिका संयोजक तथा चन्द्रागिरि नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले बताउनुभयो ।

सत्यव्रत राजालाई हयग्रीव दानवले ठूलो दुःख दिएपछि त्यसबाट पृथ्वीको रक्षा गर्न तथा भगवान् ब्रह्माले गर्नुभएको सृष्टिको रक्षा गर्न विष्णुले मत्स्य अवतार धारण गर्नुभएकोले मेलाको बेग्लै महत्त्व रहेको पनि संयोजक अधिकारीले बताउनुभयो ।

विश्वमा लुम्बिनी, पोखरामा मात्र शान्तिस्तुपा रहेकोमा अहिले मच्छेनारायणको डाँडोमा रहेको शान्ति वनमा स्थापना गर्न लागिएको संयोजक अधिकारीले बताउनुभयो । मन्दिरमा भक्तजनलाई सहज दर्शनका लागि व्यवस्थापन समितिले पार्किङ, पूजासामग्री बेच्ने ठाउँको बेग्लै व्यवस्थापन गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

हरेक पुरुषोत्तममास वा मलमासमा मच्छेनारायणमा एक महिना लामो मेला लाग्ने गर्छ । हरेक पाँच वर्षमा दुई पटक वा तीन वर्षमा एक पटक मच्छेनारायणमा मेला हुने गर्छ । मेला एउटा औँसीदेखि अर्को औँसीसम्म लाग्ने गर्छ ।

काठमाण्डौको दक्षिण पश्चिम चन्द्रागिरि नगरपालिका–९ मा रहेको मच्छेनारायण मन्दिरमा जानका लागि सार्वजनिक गाडीमा रत्नपार्कबाट कीर्तिपुर हुँदै जान सकिन्छ । साथै कलङ्की, सतुङ्गलबाट पनि मन्दिरमा जान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?