सिद्धबाबा सुरुङमार्ग : मुख्य सुरुङ खन्ने काम सुरु

तिनाउ गाउँपालिका–३, झुम्साका शिव पाण्डेय दैनिकजसो नजिकको बुटवल ओहोरदोहोर गर्छन् । उनको यात्रा हिउँद होस् वा वर्षायाम जहिलेसुकै त्रासमय हुन्छ । जतिसुकै बेला ढुंगा खस्ने, पहिरो जाने समस्या बेहोरेको वर्षौं भइसक्यो ।

सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमयुक्त सडक (सिद्धबाबाक्षेत्र) पार गरेर उनको दैनिकजस्तै यात्रा हुन्छ । ‘नजिकको बजार बुटवल पर्छ,’ उनले भने, ‘दैनिकजसो ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुन्छ, कहिलेकाहीँ त आँखैअगाडि ढुंगा खस्छ ।’ यो समस्या पाण्डेयको मात्र होइन, वर्षौंदेखि पाल्पा, गुल्मी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दीसम्मका यात्रुको साझा समस्या हो ।

राजमार्गको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पछिल्लो १० वर्षमा ४ सय २१ यात्रुले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी पाल्पाले जनाएको छ । यस क्षेत्रमा धेरै मानिस अंगभंग भएका छन् । सवारी साधनमा करोडौंको क्षति पुगिसकेको प्रहरीले जनाएको छ । ‘वर्षायाम लागेपछि रातभर सुत्न नपाइने समस्या हुन्छ,’ यसअघि ट्राफिक प्रहरी प्रमुख रहेर दोभान प्रहरी चौकीमा इन्चार्ज भएका पृथ्वी काफ्लेले भने, ‘अबको केही वर्षपछि यो समस्या नरहला कि भन्ने अब भएको छ ।’ कारण हो, सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रको सबैभन्दा जोखियुक्त सडकमा १ हजार १ सय २६ मिटर लामो सुरुङमार्गको काम सुरु गरेको छ ।

सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम सुरु गरेको छ । जस अन्तर्गत केही दिनयता अन्य काम सकेर मुख्य सुरुङ्गको टनेल खन्ने काम सुरु भएको छ । ‘जे होस् अब काम द्रुत गतिमा अघि बढ्छ भन्ने विश्वास लागेको छ,’ तिनाउ गाउँपालिका–२, दोभानका राजेश श्रेष्ठले भने, ‘मुख्य सुरुङ खन्न सुरु भएपछि आशा जागेको छ ।’ २०७५ सालमै चर्चा चलेको सुरुङमार्गले अब भने गति लिएको महशुष भएको उनले बताए ।

तत्कालीन सरकारले देशका ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको हो । घोषणामा सिद्धबाबा सुरुङमार्गसमेत प्राथमिकतामा परेको थियो । तिनाउ गाउँपालिका–३, पाल्पातर्फको सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फकै ड्यामसाइड (रामापिथेकसपार्क) सम्म सुरुङमार्ग निर्माण गर्ने सरकारले ठेक्का लगाएको छ । सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । यही माघको पहिलो सातादेखि मात्र सुरुङमार्गको मुख्य सुरुङ खन्न सुरु भएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएको सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । उनका अनुसार सन् २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ईपीसी मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ । आयोजनाअन्तर्गत २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति हुनेछ भने बाइपास सुरुङसमेत निर्माण हुने आयोजना प्रमुख जयसवालले जानकारी दिए । ७ सय ८० मिटरमा रकसेड, १ सय ५५ मिटर, १ सय ४५ मिटर र १ सय ३१ मिटर गरी ४ सय ३१ मिटरका तीन वटा बाइपास सुरुङसमेत निर्माण हुनेछ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।

बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम निर्माण कार्य अघि बढेको उनले बताए । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ मोडेलमा ठेक्का लगाएको हो । निर्माण कम्पनीले साइट क्लियरिङ, डिजाइन तथा अध्ययनको काम गरेको थियो । मुख्य सुरुङको काम केही दिनयता मात्र सुरु भएको आयोजना प्रमुख जयसवालले बताए । आयोजनाको हालसम्म १० दशमलव २ प्रतिशत भौतिक र करिब १२ प्रतिशत वित्तीय प्रगति भएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत अघि बढेको छ ।

राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ । यही क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ । भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको जोखिममा रहेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए । ‘बर्सेनि सडक मर्मत गर्दा मात्र देखिने तर तत्काल ठूल्ठूला ढुंगा खसेर बिगार्ने समस्या छ,’ उनले भने, ‘यसको दीर्घकालीन समस्या समाधानका लागि सुरुङमार्गले सहयोग पुग्ने छ ।’

६ वर्षअघि नै स्विस कम्पनीले गरेको अध्ययनले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७ सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो । स्विस कन्सल्ट्यान्ट आईटीईसीओ–एएफ (इटिको–एएफ) ले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गर्न सहयोग गरेको सडक डिभिजनले जनाएको छ । कन्सल्ट्यान्टको सुझावअनुसार सरकारले बजेट सुनिश्चित गरेर ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

अध्ययन प्रतिवेदन अनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो । स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनअनुसार नै काम अघि बढ्ने सडक डिभिजनले जनाएको छ । स्विस परामर्शदाताले चार वर्षअघि सिद्धबाबा क्षेत्रमा पहाडभित्र कस्तो चट्टान छ भन्ने अध्ययन गरेको हो । त्यसैका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर सरकारलाई बुझाएको थियो ।

सोहीअनुसार सरकारले लगाएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुन २५ गते सम्झौता भएर काम अघि बढेको छ । निर्माण कम्पनीले नौ महिनाभित्र डिजाइन रिपोर्ट बुझाउने र बाँकी चार वर्ष तीन महिनाभित्रमा निर्माण कार्य सक्ने सम्झौतामा उल्लेख भएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण व्यवसायीले साइट क्याम्प तिनाउ गाउँपालिका–२, दोभानमा राखेको छ । आयोजना कार्यालय भने रुपन्देहीको बुटवलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?