मिक्लाजुङका ६ घरमा हात्तीले पुर्‍यायो क्षति

जंगली हात्तीको समूहले गएराती मोरङको मिक्लाजुङ-६ कसेनीमा ६ घरमा क्षति पुर्‍याएको छ । प्रहरी चौकी मधुमल्लाका प्रहरी नायव निरीक्षक रमेश कार्कीका अनुसार हात्तीले घर र पसलमा गरेर करिब तीनलाखको क्षति पुर्‍याएको छ ।

 

राती अढाई बजे बस्तीमा छिरेका ६ हात्तीले स्थानीय बलभद्र खड्का, डिल्ली खड्का, लिला बुढाथोकी, ज्ञाननाथ गौतम र गणेश लावतीको घरमा क्षति पुर्‍याएको कार्कीले जानकारी दिए । उनकाअनुसार हात्तीले घर, टहरा र पसलमा क्षति पुर्‍याउँदै पसलमा राखिएको बियर खाएको पाइएको छ ।

बस्ती पसेका ६ मध्ये पाँचवटा हात्ती जंगल छिरे । स्थानीयको छेकाईमा एक हात्ती बस्तीमै रहयो । कार्कीले भने त्यही हात्तीले क्षति गर्‍यो ।

स्थानीय किशोर निरौलाका अनुसार गणेश लावतीको पसलमा बिक्रीकालागि राखिएको तिन कर्टुन बियर हात्तीले पिएको पाइएको छ । उनकाअनुसार बियरका केही बोतल फुटेका छन् र बाँकी बोतल सिसासहित पिएको स्थिति देखिन्छ ।

पछिल्लो एक महिनादेखि चारकोसे जंगलमा दुई दर्जनबढी जंगली हात्तीको हुल बसेर मोरङ, सुनसरी र झापाका गाउँमा आतंक मच्चाउँदै आएका छन् । यसक्रममा हात्ती बजारमा निस्कने र चुरे पहाड समेत चढ्न थालेका छन् । आइतबार एक हात्ती दमक बजारमा निस्केको थियो भने साताअघि आधा दर्जन हात्ती मधुमल्लाबाट इलामको चुलाचुली सम्म करिब नौ किलोमिटर पहाड चढेका थिए ।

यसैक्रममा हात्तीको आक्रमणबाट झापामा चार र सुनसरी तथा मोरङमा एक जनाको ज्यान गइसकेको छ । एक महिना पहिला चारकोसे जंगलस्थित मोरङको सुन्दरहरैचा-१० जनजागरण सामुदायिक वनमा जंगली भाले हात्ती मृत फेला परेको थियो । उक्त हात्तिलाई शिकारीले दुई राउण्ड गोली हानेर मारेको पुष्टि भएको थियो । मारिएको हात्तीको पुछर काटेर लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?