गएकाे माघ ९ गते मोरङकाे उर्लाबारीबाट उद्धार गरी जावलाखेल चिडियाखामामा राखिएको हिउँचितुवाको अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ ।
जावलाखेलको चिडियाखानामा विभागले आज पत्रकार सम्मेलन गरेर हिउँचितुवाको पछाडिको बाया खुट्टामा चोट लागेकाले टेक्न असहज भएको तर बाहिरी कुनै किसिमको चोट नदेखिएको जनाएकाे छ । चिडियाखानामा हिउँचितुवाको उपचार गर्न सहज हुने र अहिले काठमाण्डौको तापक्रम पनि हिउँचितुवा अनुकूल भएकाले ल्याएको विभागकाे भनाइ छ ।
४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएकाे विज्ञहरूले बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख तथा हिउँचितुवाकाे विषयमै विद्यावारिधि गर्नुभएका मधु क्षेत्रीले जलवायु परिवर्तनका कारण, माउँ चितुवासँग छुटेर नयाँ बासस्थान खोज्ने क्रममा वा उच्च ठाउँमा जानुपर्ने ठाउँमा अलमलिएर होचो ठाउँमा पुगेको हुनसक्ने बताउनुभएको छ। यस्तै वन्यजन्तु विशेषज्ञ प्राध्यापक करण शाहले तस्करी गर्ने क्रममा हिउँचितुवा तराईसम्म पुगेको हुन सक्ने अनुमान गर्नुभएको छ ।
हिउँचितुवा कसरी तराईसम्म पुग्यो भन्ने कुराको अनुसन्धान भइरहेको र चितुवा फेला परेको ठाउँमा टाेली पुगिसकेकाे विभागले बताएको छ ।
अहिले माेरङबाट ल्याइएकाे हिउँचितुवालाई तनाव नहोस् भनेर चिडियाखानाकाे छुट्टै ठाउँमा राखिएको छ । तीन दिनसम्म केही नखाएको हिउँचितुवाले आज दिउँसो झन्डै डेढ किलो कुखुराको मासु खाएको विभागले बताएको छ ।