महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार चौथो हार,थाइल्याण्डसँग ५ रनले पराजित

नेपाल जारी महिला त्रिकोणात्मक टी–२० सिरिजमा लगातार चौथो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

थाइल्याण्डले नेपाललाई दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २६, कबिता जोशीले २४, रोमा थापाले १९ र पुजा महतोले १८ रन बनाएकी थिइन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

थाइल्याण्डलाई कम रनमा रोक्न नेपालकी बलर मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरेकी थिइन् । मनिषाले थाइल्याण्डविरुद्ध ४ ओभरमा एक मेडनसहित १८ रन दिएर ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले एक विकेट रनआउट समेत गरेकी थिइन् । थाइल्याण्डका लागि चानिदा सुथीरुआंगले सर्बाधिक २७ रन बनाएकी थिइन् भने थिपाटचा पुथावोंगले २५ रन बनाएकी थिइन् ।

यो सहित थाइल्याण्ड सिरिजमा अपराजित हुदै चौथो जित हासिल गरेको छ भने नेपालले लगातार चौथो हार बेहोरेको छ । सिरिजमा अब नेपालले बुधबार नेदरल्याण्डसको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?