कार्य प्रारम्भ हुनु स्वतह उद्घाटन हो । उद्घाटन हुनका लागि झकिझकाउ मञ्च, उच्च ओहोदाका मानिसहरु र अभिनन्दन हुनु जरुरी छैन । कुनै भाषण गर्ने फोरमको खोजीका लागि कतिपय बेला अस्वभाविक उद्घाटन हुने गरेका छन । मेलम्चीको पानी र धरहराको उद्घाटन जस्तै अस्वभाविक उद्घाटन पाल्पाको बगनासकाली गाउँपालिका स्थित वडा न ८ को वडा कार्यालयको भएको छ । तत्कालिन गाबिस बराङदीको समेत कार्यलय रहेको भवनको निर्माण भएको १६ वर्ष र प्रयोगमा आएको ७ वर्ष पछि सोमबार उद्घाटन भएको हो ।
रङ रोगनका लागि ५० हजार र उद्घाटन सभा संचालनका लागि वडा कार्यालयले ५० हजार रुपैँया खर्च गरेको छ । अतिथिहरु, जनप्रतिनिधी र कर्मचारी उद्घाटनमा जाँदा भएको खर्च यसमा समाबेस छैन ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २०६६ सालमा बराङदी गाबिसका लागि भवन निर्माण गरेको हो । २०७४ सालको स्थानीय तहको निर्माण भएपछि यहि कार्यालयबाट सेवा सुचारु छ । स्थानीय तह निर्वाचनमा पहिलो कार्यकाल बिताएका वडा अध्यक्ष गणेस प्रसाद बस्यालले जस लिनका लागि उद्घाटन गरेको बताए । ‘हाम्रो पालामा पनि उद्घाटनको कुरा आएको थियो तर भवन बनेको १ दशक पछि उद्घाटन गर्दा राम्रो सन्देश जाँदैन भनेर गरेनौँ’ बस्यालले भने, ‘गाउँपालिका अध्यक्ष कृश्ण बस्यालले हुँदैन भन्नुभयो, त्यतीबेला अहिलेको पालिका अध्यक्ष सरस्वती चिदी पनि हुनुहुन्थ्यो ।’
स्थानीय तहको अघिल्लो कार्यकालमा प्रवक्ता रहेका हाल बगनासकाली ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले प्रचार गर्नका लागि उद्घाटनको नाटक गरेको बताए । ‘संघिय सांसद पनि जानुभएको छ, उहाँले पनि बुझ्नुभएको होला, भवन बनेर पुरानो भएपछी उद्घाटन अन्त हुँदैन’, अधिकारीले भने, ‘म धेरै बोलीन ।’
भवन उद्घाटन गरिएको फोटो सामाजिक सन्जालमा सार्वजनिक भएपछि स्थानीहरुले समेत विरोध गरेका छन । स्थानीयको समस्या समाधान गर्न ध्यान नदिएर उद्घाटन गर्न पालिकाको स्रोत साधन खर्च गरेको भन्दै उनिहरुले यस्तो नगर्न सुझाएका छन ।
स्थानीय रबिन्द्र घिमिरेले उद्घाटनका कारण आँफुमा कुनै व्यक्ति, दल, प्रतिको प्रतिसोध, रिस, डाहा नभएको तर गाउँपालिकाको यो कामले असल समाजका नविनतम उर्जालाई गिज्याईरहेको भान भएको बताएका छन । उनले भने, ‘समाजको आवश्यकता भन्दा जनप्रतिनिधी र नेताको मोह के कुरामा कति रहेछ भन्ने कुरा यो कामबाट प्रश्ट हुन्छ ।’
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले अहिले सम्म भवन उद्घाटन नभएकाले उद्घाटन गर्नु सामान्य भएको बताए । उनले तत्कालिन समयमा निकै जोडबल गरेर भवनका लागि बजेट पारिएको र सहयोग गर्ने तथा जग्गा दातालाई सम्मान गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रश्टिकरण दिएका छन ।
भवनको उद्घाटन गर्न संघिय सांसद ठाकुरप्रसाद गैरे पुगेका थिए । निर्माण भएको १६ वर्षमा उद्घाटन भएको भवनको प्राङगणमा सांसद गैरेले पुराना ऐन नियम र कानुनले देशको विकास नहुने बताएका थिए ।
नारायण न्यौपाने